काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार १९.४३ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २७८४.९५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.१६ अंकले बढेर ५२२.५३ को विन्दुमा पुगेको छ। कारोबार रकम ७ अर्ब १२ करोड रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल अब बजार बढ्छ भनेर ढुक्कसँग भन्न सकिने बताउँछन्। ‘किनकि आजबाट नाफा बुक गर्ने समय सकियो’, उनले भने, ‘हिजो र आज कारोबारले पनि राम्रो साथ दिएको छ।’

बैंकिङ क्षेत्रमा पनि विस्तार आकर्षण बढ्ने ढकालको भनाइ छ। ‘जबसम्म बैंकिङ सेक्टरमा बुल आउँदैन तबसम्म बुक सकियो भन्न सकिन्न’, उनले भने, ‘अब माघ लागेपछि नयाँ ऋण प्रवाह हुने, दोस्रो क्वाटरको रिपोर्ट आउने तथा विभिन्न संस्थाहरुको क्रसहोल्डिङमा रहेको सेयर बिक्री भइसकेकोले अब बजार सकारात्मक लयमा नै चल्छ।’

बैंक तथा वित्तीय संस्थाहरुमा पनि तरलता सहज भएको ढकालको भनाइ छ। ‘यसले पनि बजार अब सकारात्मक रहने देखिन्छ’, उनले भने।

सक्रिय लगानीकर्ता विष्णु भुसाल अब विस्तारै बजार बढ्ने नै देखिएको बताउँछन्। ‘बैंकहरुमा तरलता टाइट छ भन्ने त सुनिन्छ तर पनि कोभिड प्रभावले गर्दा बजार बढ्ने देखिन्छ’, उनले भने।

सरकारले केही नीतिगत परिवर्तन गर्दा बजारमा सकारात्मक महौल बनेको भुसाल बताउँछन्। विलाशिता वस्तुको आयातमा कडाइ, स्थानीय निकायको ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेप गणना गर्न पाउनुजस्ता कारणले बजारमा सकारात्मक महौल बनेको भुसालको तर्क। ‘यो बढाइले बजारमा बुलिस ट्रेन्ड बाँकी नै छ भन्ने प्रस्ट भएको छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।

यो दिन अन्य समूह सर्वाधिक ५.४८ अंकले उकालो लागेको छ। वित्त समूह ३.३१ अंकले बढेको आज व्यापार समूहमा १.९१ प्रतिशत, विकास बैंक समूहमा ०.७६ प्रतिशत, जलविद्युत समूहमा १.३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.५२ प्रतिशत, लघुवित्त समूहमा ०.२३ प्रतिशत, जीवन बीमा समूहमा १.४४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४१ प्रतिशत र लगानी समूहमा १.०८ प्रतिशतको बढोत्तरी भएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.१८ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.८२ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहमा ०.६६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३६ कम्पनीका १ करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक २२ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २१ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको आज एचआईडीसीएलको २१ करोड ३ लाख रुपैयाँ, अपी पावरको १९ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १८ करोड ९४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३५ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ४७ लाख रुपैयाँ, नेसनल माइक्रोफाइनान्सको १६ करोड ३२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ४३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 
यो दिन चन्द्रागिरी हिल्सको सेयरधनीले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।