काठमाण्डौ । लगातार बढिरहेको सेयर बजारमा बुधबार ओरालो लागेको छ।

आज बजार ३०.५१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८०३.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले घटेर ५२१.८३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर ८ अर्ब ३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। 

बजार जानकार सरोज भट्टराई आजको करेक्सन स्वाभाविकै रहेको बताउँछन्। ‘यसले बजारमा दिगोपन र मजबुती ल्याउने देखिन्छ’, उनले भने, ‘मनोवैज्ञानिक रुपमा बजार २८७५ को विन्दुमा प्रतिरोध सामना गरेको देखिन्छ।’

बजार केही दिन करेक्सन भएर माथि नै जाने भट्टराईको तर्क छ। ‘अहिलेको प्रतिरोध ब्रेक गरेमा बजार ३००० सम्म पुग्न सक्छ’, उनले भने। 

आज कारोबार पनि बढेकोले बजारको यात्रा सुखद् नै रहने देखिएको भट्टराई बताउँछन्। 

अर्का बजार जानकार प्रेम ओली बजारले आज राम्रै प्रदर्शन गरेको बताउँछन्। ‘हल्का करेक्सन हुनु स्वाभाविक हो’, उनले भने, ‘बजारले लय समातेको छ, लगातार बढेपछि आज नाफा बुक गरेका छन्।’

बजारमा नयाँ लगानीकर्ता पनि पसेको हुन सक्ने ओलीको भनाइ छ। ‘अब करेक्सन भएर गएको बजार ३००० सम्म पुग्न सक्छ’, उनले भने, ‘विगतको लकडाउनको मनोविज्ञानले पनि बजार बढ्न बल पुग्न सक्ने देखिन्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन लगानी समूह सर्वाधिक ३.१३ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ०.६५ प्रतिशतले बढेको आज उत्पादन तथा प्रशोधन समूहमा ०.०९ प्रतिशतको बढोत्तरी आएको छ।

यो दिन अन्य समूह सर्वाधिक ३.१३ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह २.३९ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.२१ प्रतिशत, विकास बैंक समूहमा २.३८ प्रतिशत, जलविद्युत समूहमा ०.२१ प्रतिशत, वित्त समूहमा २.२४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०४ प्रतिशत, लघुवित्त समूहमा १.१२ प्रतिशत, जीवन बीमा समूहमा १.१९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल बंगलादेश बैंकको सर्वाधिक २८ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एचआईडीसीएलको २७ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको २४ करोड ७० लाख रुपैयाँ, अप्पर तामाकोशीको २२ करोड ७२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ८० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १७ करोड ६८ लाख रुपैयाँ, ङादी पावरको १७ करोड ५१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १७ करोड ६ लाख रुपैयाँ, निफ्राको १६ करोड ३२ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १५ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको सेयरभाउमा १० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युतको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन हिमालय ऊर्जा विकास कम्पनीको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।