काठमाण्डौ । सेयर बजारमा बुधबार पनि दोहोरो अंकको करेक्सन आएको छ। 

आज बजारमा ३८.३५ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २८९८.३१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ७.८१ अंकले घटेर ५३९.६५ को विन्दुमा झरेको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर ६ अर्ब रुपैयाँ बढीको भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट हिजो र आज बजार घट्नुलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘छोटो समयमै बजार ७०० अंकले बढेको थियो, त्यसैले करेक्सन आएको हो’, उनले भने। 

बिष्टका अनुसार बजारमा भोलि पनि करेक्सन आउने सम्भावना रहेको बताउँछन्। ‘आउँदो आइतबारबाट भने बजार फेरि फर्किन सक्छ’, उनले भने। 

धेरैजसो लगानीकर्ताहरु बढ्दा सेयर किन्ने र घट्दा पर्ख र हेरको अवस्थामा बस्ने हुँदा आज कारोबार घटेको बिष्टको तर्क छ। ‘बजार बुलिस चक्रमै छ’, उनले भने, ‘त्यसैले आगामी साताबाट बजार माथि नै जाने सम्भावना छ।’

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने पनि छोटो समयमै धेरै अंकले बजार बढेकोले हिजो र आज बजारमा करेक्सन आएको बताउँछन्। ‘आजको घटाइ नितान्त नाफा बुक हो’, उनले भने, ‘माघ महिनामा बैंकिङ प्रणालीमा तरलता सहज हुने आशा गरिएको तर त्यो नहुने देखेर पनि करेक्सन भएको हुन सक्छ।’

न्यौपाने पहिलेजस्तो बजार अब धेरै तल नजाने बताउँछन्। ‘केही दिन करेक्सन भएर बजार माथि नै जान्छ’, उनले भने, ‘यो बेला नयाँ लगानीकर्ताहरुलाई बजार प्रवेश गर्ने अवसर पनि हो।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक २.६७ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह २.५४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.७३ प्रतिशत, विकास बैंक समूहमा १.२२ प्रतिशत, वित्त समूहमा २.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.३६ प्रतिशत, जलविद्युत समूहमा १.७१ प्रतिशत, लगानी समूहमा १.५८ प्रतिशत, जीवन बीमा समूहमा १.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४४ प्रतिशत, लघुवित्त समूहमा १.३७ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२६ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.८९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा किनबेच भएका छन्।

आज अपी पावरको सर्वाधिक २० करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २० करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको १५ करोड ३१ लाख रुपैयाँ, अप्पर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १४ करोड १ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १३ करोड ३३ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको १२ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ४१ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड ३५ लाख रुपैयाँ र सेन्चुरी कमर्सियल बैंकको ११ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर र सामलिङ्ग पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन घलेम्दी हाइड्रो र कालिका लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।