काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ। 

बजार आज ४९.३१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८८४.८१ को विन्दुमा झरेको छ । राम्रा बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६६ अंकले घटेर ३६६.१९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने पौने २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला राज्यलाई पुँजीबजारको हितमा सम्बोधन नगर्दा बजार दैनिक घटिरहेको बताउँछन्। ‘४–१२ र जोखिम भार अनुपातमा तत्काल सम्बोधन नभएर यस्तो भएको हो’, उनले भने, ‘राज्य पुँजीबजारप्रति उदार नभएमा ठूलो दुर्घटना हुन सक्छ।’

लगानीकर्ताहरुमा धैर्यताको बाँध टुट्न लागेको बास्तोलाले बताए। ‘अहिले बजारमा फोर्स सेलिङ भइरहेको छ’, उनले भने।

सक्रिय लगानीकर्ता टेकेन्द्र ढकाल भने आज बजार पहिलाको उच्च विन्दु १८८१ भन्दा माथि नै बसेकोले केही आशा गर्न सकिने बताउँछन्। ‘प्राविधिक रुपमा पनि जारले यहाँबाट सपोर्ट लिन सक्छ’, उनले भने, ‘तर बजारमा फोर्स सेलिङ आएकोले यही हुन सक्छ भनेर भन्न गाह्रो छ।’

ढकाल पनि राज्यले बेलैमा लगानीकर्ताहरुले उठाइरहेका माग सम्बोधन नगरेमा अवस्था कठिन सिर्जना हुन सक्ने बताउँछन्। ‘अहिले लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा छन्’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक ४.२८ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ४.१३ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.५९ प्रतिशत, व्यापार समूहमा १.४४ प्रतिशत, होटे तथा पर्यटन समूहमा २.०५ प्रतिशत, वित्त समूहमा ३.४७ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९५ प्रतिशत, अन्य समूहमा ३.५ प्रतिशत, लघुवित्त समूहमा २.६६ प्रतिशत, जीवन बीमा समूहमा २.५७ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.०४ प्रतिशत र लगानी समूहमा २.७५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन प्रभु बैंकको संस्थापक सेयरको ११ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १० करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोढ ३५ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ७ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ८८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ७९ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख रुपैयाँ र एनसीसी बैंकको ३ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा लघुवित्तको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आँधिखोला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा सिवाईसी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन तेह्रथुम पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ। आज कालिका पावर र रिभर फल्स पावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले ओरालो लागेको छ।