काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सेयर बजार सामान्य करेक्सन आएको छ। 

बजार आज ८.८७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२८.७७ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१७ प्रतिशतले घटेर ३८८.६२ को विन्दुमा झरेको छ। कारोबार रकम साढे १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार वीरेन्द्र बिष्ट बजार न्यून विन्दु धेरै बढेकोले आज करेक्सन आएको बताउँछन्। 

तरलता विस्तार सहज हुँदै गएको बिष्टको भनाइ छ। ‘नेपालमा विकास निर्माणका काम अन्तिम समयमा हुने हुँदा बजेट खर्च बढ्दै गएको देखिन्छ’, उनले भने, ‘त्यसैलै तरलता पनि सहज हुँदै गएको छ।’

बिष्टले आगामी साता पनि बजार बढ्ने र करिब २६०० को आसपाससम्म पुग्न सक्ने बताए। ‘पछिल्लो समय सडकदेखि सदनसम्म पुँजीबजारका विषयमा कुरा उठेकाले राष्ट्र बैंक पनि लचक हुने सक्ने संकेत देखिन्छ’, उनले भने, ‘यसका साथै अब लाभांशको सिजन पनि सुरु हुने भएकोले बजार सकारात्मक नै हुने देखिन्छ।’

अर्का बजार सरोज भट्टराई बजार धेरै घटेकोले फर्किएको बताउँछन्। ‘र, यो साता धेरै बढेकोले आज करेक्सन भएको छ’, उनले भने। 

अबको बजारको दिशा मौद्रिक नीतिले नै डोर्याउने भट्टराईको तर्क छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।

यो दिन व्यापार समूह सर्वाधिक १.३९ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ०.६६ प्रतिशतले बढ्दा वित्त समूहमा ०.४६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज विकास बैंक समूह सर्वाधिक १.३९ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.८८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८१ प्रतिशत, जलविद्युत समूहमा ०.४९ प्रतिशत, जीवन बीमा समूहमा ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२२ प्रतिशत र अन्य समूहमा ०.५५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमधये २२१ कम्पनीका ३६ लाख ६३ हजार २२० कित्ता सेयर १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक ५ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ६२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ५१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६१ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३ करोड ३३ लाख रुपैयाँ, अप्पर तामाकोशीको ३ करोड २० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ८ लाख रुपैयाँ र नेपा लाइफ इन्स्योरेन्सको २ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा लघुवित्तका सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ झन्डै ५ प्रतिशतले ओरालो लागेको छ।