काठमाण्डौ । सेयर बजारमा सोमबार करेक्सन भएको छ। 

बजारमा आज ९.७५ अंकको करेक्सन भएको हो। योसँगै नेप्से परिसूचक २०७६.६७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.६८ अंकले घटेर ३९६.१५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर सवा ४ अर्ब रुपैयाँ बढीको भएको छ। 

आज बजारमा निकै उतारचढाव भएको छ। यो दिन झन्डै ९० अंकको उतारचढाव भएको देखिन्छ। 

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला आज बजारमा नितान्त नाफा बुक भएको बताउँछन्। न्यून विन्दुबाट ३०० अंकभन्दा बढी बढेपछि तल्लो विन्दुमा किन्नेहरुले नाफा बुक गरेको हुन सक्ने बास्तोलाको भनाइ छ। ‘यो राम्रो पनि हो’, उनले भने, ‘यसले बजार मजबुत हुन्छ।’

आज कारोबार बढेकोले थप लगानीकर्ता बजार प्रवेश गरेको पनि संकेत गर्ने बास्तोला बताउँछन्। ‘अन्तिम समयमा बजार पुनः सम्हालिएकोले अब बजार करेक्सन हुँदै माथि जाने सम्भावना छ’, उनले भने।

सक्रिय लगानीकर्ता दामोदर गजुरेल पनि आज घटाइलाई करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘आज अन्तिम समयमा अल्पकालीन लगानीकर्ता हावी भएको थियो’, उनले भने, ‘प्राविधिक रुपमा बजार करेक्सन हुँदै बढ्ने देखिन्छ।’

आधारभूत रुपमा तरलता सहज हुँदै गएकोले बजार मजबुत नै रहेको गजुरेल बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूहमा सर्वाधिक ५.१० प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ०.५८ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा ०.५४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज अन्य समूह सर्वाधिक १.७२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.६७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०९ प्रतिशत, विकास बैंक समूहमा १.४७ प्रतिशत, वित्त समूहमा ०.३९ प्रतिशत, जलविद्युत समूहमा ०.५५ प्रतिशत, लगानी समूहमा ०.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८५ प्रतिशत र लघुवित्त समूहमा १.३२ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३४ कम्पनीका १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक १७ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको आज एसियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख रुपैयाँ, अरुण काबेली पावरको १११ करोड ७८ लाख रुपैयाँ, अप्पर तामोकोशीको ११ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ११ करोड १८ लाख रुपैयाँ, नबिल बैंकको १० करोड ३९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७ लाख रुपैयाँ र जीवन विकास लघुवित्तको ७ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सिवाईसी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा ङादी ग्रुप पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन युनियन हाइड्रोपावर र ग्रीनलाइफ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले ओरालो लागेको छ।