काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन सेयर बजार भारी अंकले ओरालो लागेको छ।

बजार आज ४३.३५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०६२.८० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.६८ अंकले घटेर ३९७.४३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार सरोज भट्टराई भदौको ब्याजदरका विषयमा द्विविधा हुँदा बजारमा दबाब परेको बताउँछन्। ‘ब्याजदरका विषयमा लगानीकर्ताहरु अलमलमा छन्’, उनले भने, ‘बजारबाट नाफा बुक पनि भएको हुन सक्छ।’

प्राविधिक रुपमा २०८० सपोर्ट भत्किँदा पनि आज बजार घटेको भट्टराई बताउँछन्। ‘अझै केही दिन करेक्सन हुन सक्छ कि जस्तो छ’, उनले भने, ‘तर यो बेला सेयर उठाउने मौका छ। किनेर होल्ड गर्दा घाटा हुँदैन।’

सक्रिय लगानीकर्ता निमानन्द कँडेल बजार घट्नुलाई स्वाभाविक करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘४–१२ को प्रेसर पनि छ’, उनले भने, ‘म्युचुअल फन्डहरुले पनि बेचेका हुन सक्छन्।’

बजार अझै घट्छ भन्ने मानसिकताले पनि प्रभाव परेको हुन सक्ने कँडेलको भनाइ छ। ‘तर, आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। अन्य समूह सर्वाधिक ३.७७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ३.२३ अंकले घट्दा बैंकिङ समूहमा १.३१ प्रतिशत, व्यापार समूहमा ३.१८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२२ प्रतिशत, विकास बैंक समूहमा ३.२२ प्रतिशत, जलविद्युत समूहमा ३.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२९ प्रतिशत, लघुवित्त समूहमा २.६३ प्रतिशत, जीवन बीमा समूहमा १.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९५ प्रतिशत र लगानी समूहमा १.८९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका ६६ लाख ४६ हजार ३६ कित्ता सेयर २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नागरिक लगानी कोषको सर्वाधिक १५ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १३ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख रुपैयाँ, नबिल बैंकको १० करोड ४२ लाख रुपैयाँ, नेपाल टेलिकमको ७ करोड ७८ लाख रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ७४ लाख रुपैयाँ, अपी पावरको ५ करोड ४६ लाख रुपैयाँ, पाँचथर पावरको ५ करोड ३६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ३६ लाख रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको ४ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज हिमालयन हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यो दिन गणपति लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।