काठमाण्डौ । नेप्सेमा लगातार ६ वटा रातो क्यान्डलपछि आज बुलिस क्यान्डल बनेको छ। यो क्यान्डललाई अघिल्लो दिनको रातो क्यान्डलसँग मिलाएर हेर्दा बुलिस इन्गल्फिङ क्यान्डल बनेको छ।

यदि अघिल्लो दिनको रातो क्यान्डललाई ढाक्ने गरी पछिल्लो दिनको हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनेर बुझिन्छ। यसको ठीकविपरीत हरियो क्यान्डललाई ढाक्ने गरी रातो क्यान्डल बन्छ भने बियरिस इन्गल्फिङ भनेर बुझिन्छ। 

आज नेप्सेको दैनिक चार्टमा १९०६ बाट फर्केको बजारमा  बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ। (हेर्नुहोस् कालो एरो)

नेप्सेलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा तल्लो ब्यान्डमा बुलिस क्यान्डल बनेको छ। आरएसआई पनि ओभरसोल्ड जोन २५ बाट फर्केर ३४ मा पुगेको छ। 

म्याक्डीमा भने ७ अगस्टमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम भने नेगेटिभ भए पनि छोटा–छोटा हुँदै गएका छन्। 

यदि आगामी दिनमा बजारले बोलिंगर ब्यान्डको मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएमा बजारले यूटर्न लिँदै गरेको बुझिन्छ। अबको नजिकको प्रतिरोध भने बजारले १९५० को पिभट प्वइन्टमा लिनेछ। 

त्यसैगरी बजारले  पहिलो, दोस्रो र तेस्रो प्रतिरोध क्रमशः १९७५, २०१३ र २०३५ को विन्दुमा लिने देखिन्छ। घटेमा बजारले १९१२, १८८८ तथा १८४९ को विन्दुमा क्रमशः सपोर्ट लिने देखिन्छ।