काठमाण्डौ । सेयर बजार बुधबार फेरि १९०० विन्दु माथि उक्लिएको छ। 

बजारमा आज १३.४ अंकको बढोत्तरी भएको छ। योसँगै नेप्से परिसूचक १९११.२६ को विन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स २.८६ अंकले उकालो लागेर ३७६.५७ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर ८५ करोड रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी विकास बैंक तथा फाइनान्स कम्पनीले मंसिरको ब्याजदर घटाउँदा बजार बढेको बताउँछिन्। ‘तर, अझै पनि गति लिन नसक्नुमा लगानीकर्ताहरुले चुनावी परिणाम कुरेको हुन सक्छ’, उनले भनिन्। 

बजार तल्लो विन्दुबाट फर्किने तरखरमा रहेको तिवारी बताउँछिन्। ‘चुनावपछि बजार लयमा फर्किन सक्छ’, उनले भनिन्। 

बजार जानकार प्रकाश रजौरे आजको बढाइले बजार अगाडि बढ्न खोजेको संकेत गरिरहेको बताउँछन्। ‘लगानीकर्ताको मनोबल अझै बढिसकेको छैन’, उनले भने। 

बैंकहरुमा तरलता सहज हुँदै गएको अवस्था रहेको रजौरे बताउँछन्। ‘बैंकहरुले सेयर लोन लिनका लागि बोलाउन थालेको सुनिन्छ’, उनले भने, ‘चुनावपछि बजारमा सुधार हुन सक्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक १.२७ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह १.१३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६१ प्रतिशत, वित्त समूहमा १.०१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४८ प्रतिशत, लगानी समूहमा ०.८७ प्रतिशत, जीवन बीमा समूहमा ०.९० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८८ प्रतिशत, लघुवित्त समूहमा ०.४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२९ प्रतिशत र अन्य समूहमा ०.६७ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक १.२ प्रतिशतले घट्दा म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका २४ लाख ९५ हजार ६१२ कित्ता सेयर ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन रिडी पावरको सर्वाधिक ६ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ७८ लाख रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको २ करोड ७८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २ करोड ६७ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ६६ लाख रुपैयाँ, एभरेस्ट बैंकको १ करोड ६२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ६० लाख रुपैयाँ र नागरिक लगानी कोषको १ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सिक्लेस हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ४ प्रतिशत बढीको गिरावट आएको छ।