काठमाण्डौ । सेयर बजारमा मंगलबार सामान्य गिरावट आएको छ। 

बजार आज ७.१३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२९.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले घटेर ३७९.५९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बजार आज घट्नुलाई स्वाभाविक करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘कारोबारमा सुधार आएको छ’, उनले भने।

अब विस्तारै तरलता सहज हुँदै जाने बिष्टको भनाइ छ। ‘चुनावी नतिजामा युवापुस्ता अगाडि आइरहेका छन्’, उनले भने, ‘यसले पनि बजारमा सकारात्मक असर पार्छ।’

छिट्टै सार्वजनिक हुने मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले केही नीतिगत व्यवस्थामा परिवर्तन गर्न सक्ने बिष्ट बताउँछन्। ‘ब्याजदर नबढ्ने गरी नीतिहरु आउन सक्छ’, उनले भने, ‘यस सेयर बजारमा सकारात्मक प्रभाव पार्न सक्छ।’

बजार जानकार महेश रिजाल आज बजारमा अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेको बताउँछन्। ‘ब्रोकरहरुको सेटलमेन्टका कारण बजारमा करेक्सन आएको हो’, उनले भने।

चुनावी नतिजा आउँदै गर्दा केही पर्ख र हेरको अवस्थामा रहेको पनि हुन सक्ने रिजालको भनाइ छ। ‘चुनावको नतिजा आइसकेपछि बजार सकारात्मक नै हुने देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन बैंकिङ समूह ०.०९ प्रतिशतले बढ्दा जीवन बीमा समूह ०.०३ प्रतिशतले उकालो लागेको छ। 

आज विकास बैंक र अन्य समूह सर्वाधिक १.४४ प्रतिशतले ओरालो लागेका छन्। होटेल तथा पर्यटन समूह ०.९९ प्रतिशतले घट्दा वित्त समूहमा ०.३७ प्रतिशत, जलविद्युत समूहमा ०.६९ प्रतिशत, लगानी समूहमा ०.५८ प्रतिशत, उत्पादन तथ प्रशोधन समूहमा ०.८८ प्रतिशत, लघुवित्त समूहमा ०.४६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३३ प्रतिशत र व्यापार समूहमा ०.३९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९.६५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल बैंकको सर्वाधिक १२ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ८ करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ८ करोड ६० लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ४३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४ करोड ९० लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ७८ लाख रुपैयाँ, मेगा बैंकको ३ करोड ७४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २ करोड ८९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८० लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको २ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन जानकी फाइनान्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ। 

आज युनिलिभर नेपालका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।