काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो स्वामित्वको सेयरमध्ये ५.१ प्रतिशत बिक्री गर्ने भएको छ। 

केही दिनअघि बसेको राष्ट्र बैंक सञ्चालक समितिले नेप्सेको सेयर बेच्ने निर्णय गरेको हो। हाल नेप्सेमा राष्ट्र बैंकको सेयर स्वामित्व १४.६० प्रतिशत रहेको छ। ‘राष्ट्र बैंकले नेप्सेको ५.१ प्रतिशत सेयर बेचर अब ९.५ प्रतिशत स्वामित्वमात्रै राख्ने निर्णय भएको छ’, राष्ट्र बैंकका एक अधिकारीले भने। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा दोस्रो संशोधनले राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने गरी व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार अब राष्ट्र बैंकले आफ्नो सेयर स्वामित्व १० भन्दा कम कायम गर्न लागेको ती अधिकारीले बताए। ‘नेप्सेमा राष्ट्र बैंकको स्वामित्वमा रहेको ५.१ प्रतिशत सेयर राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने निर्णय भएको छ’, ती अधिकारीले भने। 

हाल नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको सेयर स्वामित्व ६.१४ प्रतिशत रहेको छ। राष्ट्र बैंकको स्वामित्वको सेयर किनेपछि राष्ट्रिय वाणिज्य बैंकको नेप्सेमा सेयर स्वामित्व १० प्रतिशतभन्दा बढी हुनेछ। 

राष्ट्र बैंकले नेप्सेमा रहेको आफ्नो स्वामित्वमा रहेको ५ लाख ९ हजार ३४२ कित्ता सेयर राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्नेछ। ‘प्रतिकित्ता ६७६.५२ रुपैयाँमा सेयर बेच्ने निर्णय भएको छ’, ती अधिकारीले भने। 

हाल नेप्सेमा सबैभन्दा धेरै सेयर स्वामित्व नेपाल सरकारको ५८.६६ प्रतिशत रहेको छ। त्यस्तै कर्मचारी सञ्चय कोषको १० प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ। 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले राष्ट्र बैंकले नेप्सेमा रहेको आफ्नो स्वामित्वको केही हिस्सा बेच्ने निर्णय गरेको अनौपचारिक रुपमा जानकारी आएको बताए। ‘औपचारिक रुपमा राष्ट्र बैंकको निर्णयबारे जानकारी नेप्सेले प्राप्त गरेको छैन’, उनले भने।