काठमाण्डौ। कारोबार रकममा छाएको उछालको अवस्था सोमबार पनि जारी रह्यो । आइतबारको तुलनामा सोमबारको सेयर बजारमा कारोबार रकम केही घटे पनि कारोबार संख्यामा फेरि कीर्तिमान कायम भएको छ । 

सोमबार नेप्से परिसूचकमा १.९६ अंकको झिनो करेक्सन आए पनि कारोबार रकम ३ अर्ब ४१ करोड माथि पुगेको छ । 

यो दिन १७९ कम्पनीका ८३ लाख ४८ हजार २३४ कित्ता सेयर ३१ हजार २९०  वटा कारोबारबाट खरीदबिक्री भयो । 

अघिल्लो दिनको तुलनामा कारोबार रकम र कारोबार भएका सेयर कित्ता कम भए पनि कारोबार संख्यामा भने नयाँ कीर्तिमान कायम भएको हो ।

आइतबार ३० हजार ४५७ वटा कारोबारको नयाँ कीर्तिमान कायम भएको थियो । तर, आइतबारको कीर्तिमानलाई समेत तोड्दै कारोबार संख्यामा नेप्सेले नयाँ रेकर्ड बनाएको हो । यो दिन हालसम्मकै सर्वाधिक ३१ हजार २९० वटा कारोबार भएका हुन् । 

बजारमा उछाल आई अधिकांश समूहका कम्पनीको मूल्य बढेपछि प्रफिट बुक गर्ने हतारोका कारण सोमबार सामान्य करेक्सन भएको हो । बजारमा सामान्य करेक्सन भए पनि कारोबार रकम ३ अर्ब ४१ करोड माथि रहनुले अझै पनि हङ्ग्री इन्भेष्टरको प्यास अतृप्त नै रहेको देखाउने विश्लेषक बताउँछन् । 'बुलिस बजारमा सानातिना करेक्सन स्वभाविक हो ।' विश्लेषकहरु भन्छ-'करेक्सन हुँदै अगाडि बढेको बजार दिगो, बलियो र सुरक्षित हुन्छ ।' 

बजारमा बुलिस ट्रेण्ड देखिएपछि ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको थामिनसक्नु भीड बढेको छ । 

सेयर बजारविरोधीको छवि बनाएका अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिने खबरले पनि बजारमा सकारात्मक माहौल बनाएको छ ।

यसबाहेक बैंक ब्याजदर घट्दै गएको, स्टक डिलर कम्पनीको निकट भविष्यमै बजारमा प्रवेशको तयारी भइरहेको, पूँजीबजारका समस्या समाधानका लागि अर्थमन्त्रीबाट गठित कार्यदलले दिएका, तर कार्यान्वयन हुन बाँकी रहेका सुझाव मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट सम्बोधन हुने तयारी भइरहेको, सरकारले नै पूँजीबजारलाई प्राथमिकतामा राखेर बढ्न प्रेरित गर्ने गतिविधि संचालन गरिरहेको जस्ता कारणले बजारको माहौलमा उत्साह थपिएको विश्लेषकहरु बताउँछन् । चौतर्फी सकारात्मक माहौल बनेपछि बढ्दो बजारमा पैसा कमाउने ध्येयले नयाँ, पुरानादेखि विदेशमा बस्ने नेपालीहरुले समेत लगानी ओइराइरहेका छन् । यसको प्रभावले समेत बजारमा कारोबार रकममा नयाँ नयाँ रेकर्ड बनिरहेको जानकार बताउँछन् । 

हरेक दिन नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको बजार परिसूचक(नेप्से) सोमबार १५०२.१८ को विन्दूमा सीमित भयो । 

यो दिन राम्रा र बलिया कम्पनीमा खरीद चाप नै देखिन्छ । जसका कारण सेन्सेटिभ इण्डेक्स ०.४९ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२३ अंकको गिरावट देखिएको छ । 

यो दिन उत्पादन तथा प्रशोधन समूह, बैंकिङ समूह र अन्य समूह बाहेक सबै समूहको उपसूचकमा रातो पोतियो । 

बैंकिङ समूह ४.७६ अंकले बढेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा २३.३९ अंक तथा अन्य समूहमा ९.०४ अंकको बढोत्तरी भयो।

यो दिन व्यापार समूह १५.४२ अंकले घट्यो भने होटल समूहमा २२.६५ अंक, विकास बैंक समूहमा १६.३२ अंक, जलविद्युत समूहमा ११.५८ अंक, बित्त समूहमा २.३९ अंक, निर्जीवन बिमा समूहमा २२०.२८ अंक, जीवन बिमा समूहमा ४.७३ अंक, माइक्रोफाइनान्स समूहमा ३२.०३ अंक र म्युचुअल फण्ड समूहमा ०.०४ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७९ कम्पनीका ८३ लाख ४८ हजार २३४ कित्ता सेयर ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २७८ रुपैयाँमा किनबेच भयो। 

सबैभन्दा बढी एनएमबी बैंकले २० करोड ४३ लाख बढीको कारोबार गर्यो । शिवम सिमेन्टले १३ करोड बढी कारोबार गरेको यो दिन शिखर इन्स्योरेन्सले १२ करोड, प्रिमियर इन्स्योरेन्सले ११ करोड ८६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १० करोड ६४ लाख, एनआइसी एशियाले १० करोड ४४ लाख, हिमालयन डिस्टीलरीले १० करोड २२ लाख, नेपाल बैंकले ९ करोड ५५ लाख, ग्लोबल आइएमई बैंकले ९ करोड ९ लाख र प्रभू बैंकले ७ करोड ९६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन कालिका माइक्रो क्रेडिट र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । कालिकाको सेयर मूल्य १० प्रतिशत र मञ्जुश्रीको मूल्य ९.५७  प्रतिशतको हाराहारीमा बढ्यो । 

युनियन हाइड्रोपावर लिमीटेडको मूल्य ९.३८ प्रतिशतले बढ्यो । 

यो दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको मूल्यमा सबैभन्दा बढी ७.५३ प्रतिशतको गिरावट आयो ।