काठमाण्डौ । नेपालको सेयर बजारले आज इतिहास रचेको छ । नेप्से परिसूचक अलटाइम हाईको पुरानो रेकर्ड नजिक पुग्न १०० अंक हाराहारी बाँकी छँदा बजारमा इन्टा डे कारोबारले रेकर्ड बनाएको हो ।

यो दिन ६ अर्ब ११ करोड  ६७ लाख बढीको सेयर किनबेच भयो । जुन यसअघिको सर्वाधिक कारोबारको रेकर्डभन्दा करिब २ अर्बले बढी हो। 

मार्च १, २०२० मा नेप्सेमा ४ अर्ब ८४ करोड ७४ लाखको इन्टा डे कारोबार भएको थियो । त्यो रेकर्डलाई ब्रेक गर्दै कारोबार रकममा आज नयाँ रेकर्ड बनेको हो । 

कारोबार रकममा मात्र नभई किनबेच भएका सेयरहरुको कित्ताको संख्यामा समेत नयाँ रेकर्ड बनेको छ । नेप्सेका अनुसार २०२० को सेप्टेम्बर १७ मा बजारमा १ करोड ३२ लाख १६ हजार २३४ कित्ता सेयरको एकैदिन किनबेच भएको थियो । हालसम्मको सर्वाधिक सेयर संख्या किनबेच भएको सो रेकर्डलाई समेत बिहीबारको बजारले तोडेर नयाँ रेकर्ड बनाएको छ । यो दिन १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको हो । 

यो दिन कुल बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड बन्ने निश्चित देखिन्छ । यसरी एकैदिन नेप्सेमा तीनवटा नयाँ रेकर्डहरु बनेका छन् । 

नेप्से परिसूचक अलटाइम हाई १८८१ विन्दूतर्फ अगाडि बढ्दै गर्दा नयाँ नयाँ रेकर्डहरु बन्दै जाने विश्लेषकहरु बताउँछन् ।