-अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । समग्रमा यो साता सेयर बजारमा ४३.१३ अंकको बढोत्तरी भयो । 

अघिल्लो साता भने बजार झण्डै २८ अंकले घटेको थियो । 

यो साता सेयर बजारमा जम्मा ५ अर्ब २० करोड बराबरको मात्रै कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता भने ७ अर्ब १४ करोड रहेको थियो । यस हिसाबले सेयर बजारमा यो साता आघिल्लो साताको तुलनामा नेप्से परिसूचक बढ्यो भने कारोबार घट्यो । अब बजार आसन्न चुनावपछि मंगलबार मात्रै खुल्नेछ ।

प्राविधिक पक्ष
पछिल्लोपटक १८०६ को विन्दूलाई बटम बनाएको बजारलाई हामीले इलिअट वेभको माइनर डिग्रीमार्फत ब्याख्या गर्ने हो भने वेभ–वान लगभग १९९० सम्म पुगेको देखिन्छ । त्यसपछि बजार वेभ–टू
अन्तर्गत फिवोनासीको ०.६१ प्रतिशतको करेक्सन भएर १८८० को विन्दूसम्म आएको छ । इलिअट वेभअन्तर्गत वेभ–थ्री ठूलो र लामो हुने गर्छ । अब वेभ–थ्रीअन्तर्गत अबको बढोत्तरी लगभग २०९० सम्मको देखिन्छ । वेभ–फोरमा करेक्सन भएर बजार २०४० सम्म आउनसक्नेछ भने वेभ–फाइभमा पुनः बढोत्तरीका साथ नेप्से २२६० सम्म पुग्न सक्नेछ । 
सुपर ट्रेण्डको आधारमा 

दैनिक चार्टअन्तर्गत बजारलाई सुपर ट्रेण्डमार्फत हेर्दा बजार अझै बियरिस नै देखिन्छ । सुपर ट्रेण्डमा यदि मूल्यरेखाले ट्रेण्ड लाईनलाई तलबाट काटेर माथि जान्छ भने बजार बुलिस बनेको मानिन्छ । यसको कन्फर्मेसनका लागि एक–दुई क्याण्डलमा हरियो मारुबुजु बन्नुपर्ने हुन्छ । सुपर ट्रेण्डमार्फत बजारलाई हेर्दा यदि आगामी कारोबारमा बजार १९९० भन्दा माथि गएमा बुलिस हुँदै गएको मानिन्छ । 

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डमार्फत साप्ताहिक चार्टमा हेर्दा बजारले विगत १० महिनादेखि मध्यब्याण्डभन्दा तल–तल कारोबार भएकोमा यो साता पनि मध्यब्याण्ड भन्दा माथि गएर कारोबार हुन सकेन । यसअघि दुईपटक मार्च २० र जुलाई ३० मा बजारले मध्यब्याण्ड ब्रेकको कोशिश गरेको देखिन्छ। यदि आगामी दिनहरुमा बजारले १९९० भन्दा माथि गएर कारोबार गरेको अवस्थामा भने बोलिङ्गर ब्याण्डको मध्यब्याण्डलाई ब्रेक गरेर बजारले खरिदका लागि कन्फर्मेसन दिएको मानिनेछ । साप्ताहिक चार्टमा नै बजारलाई म्याक्डीमार्फत हेर्दा ९ अक्टोबारमा बुलिस क्रस बनेको हालसम्म पनि भ्यालिड नै रहेको छ । हिस्टोग्राम पोजेटिभ र लामा–लामा बन्दै गएको देखिन्छ । आरएसआईमा पनि ३० को ओभरसोल्ड जोनबाट बजार ४१ को तहमा बढ्दो गतिमा रहेको छ । यदि साप्ताहिक चार्टमा नै बजार ४३ भन्दा माथि लाग्छ भने नेप्सेले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ । 

पिभट विश्लेषण 
पिभट विश्लेषणबाट सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 
प्रतिरोध १– १९५७
प्रतिरोध २– २०२१
प्रतिरोध ३– २०५५
पिभट प्वाइन्ट:  १९२३
घटेमा सपोर्ट 
सपोर्ट १– १८५९
सपोर्ट २– १८२५
सपोर्ट ३– १७६२

निश्कर्ष: यो साता सेयर बजारमा ४३ अंकको बढोत्तरी आयो । अघिल्लो साताको तुलनामा यो साता कारोबार रकम भने बढ्न सकेन । प्राविधिक रुपमा हेर्दा यो साता १९२३ को पिभट् प्वाइन्ट भन्दा माथि नै बजार बन्द भएको देखिन्छ । डाउ थेउरी अनुसार सानो टाइम फ्रेममा हेर्दा बजारले हायर हाई र हायर लोका सिरिजहरु बनाएको देखिन्छ । यसले बजार मजबुत रहेको देखिन्छ । तर, बजारले आगामी कारोबारहरुमा १९९० मा भने बलियो प्रतिरोधको सामना गर्नुपर्ने हुनसक्छ । यदि त्यहाँबाट पनि माथि जान्छ भने बजारले इलिअट वेभअनुसार पनि सानो टाइम फ्रेममा अहिलेको बढोत्तरी लगभग २३०० सम्म पुग्नसक्छ। साप्ताहिक चार्टको मध्यब्याण्ड तथा सुपर ट्रेण्डमार्फत हालको बढोत्तरीको बलियो प्रतिरोध १९९० लाई अहिलेका लागि एउटा बेञ्चमार्क मान्न सकिन्छ । भोलुमको आधारमा बजारलाई हेर्दा यो साताको अन्तिम कारोबारमा लगभग २ अर्बको भोलुम आएको देखिन्छ । जसलाई यो साताको सुखद अन्त्य र आगामी दिनको सुखद सुरुवातको प्रस्थान विन्दू पनि मान्न सकिन्छ ।