काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘सिम्युलेसन ट्रेडिङ’ सञ्चालनमा ल्याउने भएको छ।
विशेषगरी नयाँ लगानीकर्तालाई सेयर कारोबार गर्न सिकाउने उद्देश्य ‘सिम्युलेसन ट्रेडिङ’ सञ्चालनमा ल्याउन लागिएको छ। ‘यो भनेको पैसा तिरेर गरिने सक्कली कारोबार होइन’, नेप्सेका उच्च अधिकारीले भने, ‘यो नयाँ लगानीकर्तालाई सिकाउन ल्याउन लागिएको एउटा प्रविधि हो।’
अन्तर्राष्ट्रिय बजारमा यस किसिमको ट्रेडिङ हुने गर्छ। ‘त्यहाँ लगानीकर्ताको लगानी नफसोस् भन्ने उद्देश्यले सिम्युलेसन ट्रेडिङको व्यवस्था गरिएको हुन्छ’, ती अधिकारीले भने, ‘नेपालमा हाल यस्तो ट्रेडिङ सुरु भइसकेको छैन। त्यसैले पैसा लगाएर सेयर कारोबार गर्दै सिक्नुपर्ने अवस्था छ। जसका कारण नयाँ लगानीकर्ताको पैसा जोखिममा पर्ने सम्भावना धेरै हुन्छ।’
सिम्युलेसन ट्रेडिङ हालकै टीएमएसमार्फत सञ्चालन हुने पनि ती अधिकारीले बताए। ‘तर, यो डमी कारोबारमात्र हो अर्थात सक्कली होइन सिकाइका लागि कारोबार गर्न सकिनेछ’, ती अधिकारीले भने।
सिम्युलेसन ट्रेडिङ नेप्से सीईओको वार्षिक कार्ययोजनाभित्र एउटा योजना रहेको पनि ती अधिकारीले प्रस्ट पारे। ‘गत पुस २९ गते भएको नेप्सेको वार्षिक साधारणसभामै सिम्युलेसन ट्रेडिङ लन्च गर्ने तयारी गरिएको थियो तर प्राविधिक कारणले लन्च हुन सकेन’, ती अधिकारीले भने, ‘यही माघभित्र लन्च हुन सक्छ।’
सिम्युलेसन ट्रेडिङ सञ्चालनका लागि सबै प्रक्रिया पूरा भइसकेको बताइएको छ। लगानीकर्तालाई सेयर कारोबार कसरी गर्ने भन्ने कुराको ज्ञान दिन यो योजना अगाडि बढाइएको हो।
नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले नयाँ लगानीकर्तालाई सेयर कारोबार ज्ञान दिनका लागि डमी कारोबारका रुपमा सिम्युलेसन ट्रेडिङ सञ्चालनमा ल्याउन लागिएको बताए। ‘नयाँ लगानीकर्ताले निःशुल्क रुपमा सिम्युलेसन ट्रेडिङ गर्न पाउनेछन्’, उनले भने, ‘यसबाट उनीहरुले कति बेला सेयर किन्ने र कति बेला बेच्ने, कस्ता कम्पनीहरुले कस्तो प्रदर्शन गरिरहेका छन् भन्ने कुरा थाहा पाउनेछन्।’
हाल सिधै बजार प्रवेश गरेर सेयर कारोबार सिक्नु पर्ने अवस्थालाई अन्त्य गर्न यो योजना ल्याइएको सीईओ कार्कीले बताए। ‘कारोबार गर्न सिक्दा–सिक्दै लाखौँ रकम गुमाउनुपर्ने अवस्था छ’, उनले भने, ‘अब यो योजना सञ्चालनमा आएपछि कारोबारबारे ज्ञान भएपछि मात्रै बजार प्रवेश लगानीकर्तालाई सहज हुनेछ।’
सीईओ कार्कीले पनि माघभित्रै सिम्युलेसन ट्रेडिङ सञ्चालनमा ल्याउने गरी कामहरु भइरहेको बताए। ‘सबै कुराले साथ दिए माघभित्रै सञ्चालनमा ल्याउँछौँ’, उनले भने।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago