काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार हराभरा भएको छ। 

बजार आज ६३.३८ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५३८.४६ को विन्दुमा फर्किएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.४४ अंकले बढेर ४५३.५९ को उचाइमा पुगेको छ। 

आज कारोबार रकम पनि बढेर झन्डै ६ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ।

बजार जानकार प्रेम ओली बजार चैतको दोस्रो साताबाट बढ्ने भन्ने आमआँकलन रहे पनि पहिलो साताबाटै बढेकोले लगानीकर्तामा मनोबल बढेको प्रस्ट हुने बताउँछन्। ‘आज लघुवित्त र बीमा कम्पनीहरुमा उछाल आउनुमा यसअघि यी समूहका कम्पनी धेरै घटेकोले पनि हुनसक्छ’, उनले भने। 
बजारले यसअघिको रेकर्ड ब्रेक गर्ने सम्भावना प्रबल देखिएको ओलीको दाबी छ । 

आज परिसूचकसँगै कारोबार रकम पनि बढेकोले बजारमा नयाँ किसिमको उत्साह देखिएको उल्लेख गर्दै ओलीले ‘नयाँ वर्षमा बजारले नयाँ उचाइ लिनसक्छ’ भन्ने प्रक्षेपण गरे । 

बजारमा अब ठूलो करेक्सन लगभग सकिएको भन्दै ओलीले भने, ‘अलटाइम हाईमा पुगेको बजारमा ४० प्रतिशत हाराहारीमा करेक्सन आइसकेको छ, अब सानातिना करेक्सनबीच बजार माथि नै जान्छ।’

सक्रिय लगानीकर्ता निमानन्द कँडेल लघुवित्त समूहमा उछाल आउनुको कारण हकप्रद तथा एफपीओ नै रहेको बताउँछन्। बजारमा हल्ला चलेजस्तो ब्याजदर बढ्ने सम्भावना नरहेकोले सेयर कर्नरिङ हुँदै बजार अगाडि बढ्ने उनको तर्क छ। 

लगानीकर्ताको मनोबल बढेकोले बजार अझै माथि जाने सम्भावना देखिएको कँडेलको भनाइ छ। बजार बढ्नुमा राजनीतिक, आर्थिक र सामाजिक परिवेश सकारात्मक बन्दै जानु नै मुख्य कारणहरु रहेका उनी बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक ७४२.७६ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ५६१.३४ अंकले बढ्यो भने आज बैंकिङ समूहमा २६.५२ अंक, व्यापार समूहमा १३.२ अंक, होटेल तथा पर्यटन समूहमा १५३.७७ अंक, विकास बैंक समूहमा ४६.८७ अंक, जलविद्युत् समूहमा १३.८ अंक, वित्त समूहमा ६.३७ अंक, उत्पादन तथा प्रशोधन समूहमा १७२.८८ अंक, अन्य समूहमा ५७.९४ अंक, लघुवित्त समूहमा २४६.६ अंक, म्युचुअल फन्ड समूहमा ०.१६ अंक र लगानी समूहमा १.२५ अंकको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका १ करोड २४ लाख ३० हजार ००२ कित्ता सेयर ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँमा किनबेच भइरहेका छन्।

आज नेपाल बंगलादेश बैंकको सर्वाधिक ३९ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन निफ्राको २१ करोड १८ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १५ करोड ६३ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड ९० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड १८ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १२ करोड ६२ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको १२ करोड १५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड १० लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १२ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज ९ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त र सूर्योदय लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा सामुदायिक लघुवित्त, समीट लघुवित्त, चन्द्रागिरी हिल्स, किसान लघुवित्त, स्वाभिमान लघुवित्त र युनाइटेड इदी मर्दीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यो दिन सबैको लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन ग्रीनलाइफ हाइड्रोपावर र खानीखोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवैको सेयरमूल्य ६ प्रतिशत बढीले ओरालो लाग्यो ।