काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार दोहोरो अंकले उकालो लागेको छ। 

गत साता लगातार घटेको बजारमा आज ७१.४३ अंकको बढोत्तरी भएको हो। योसँगै नेप्से परिसूचक २९४७.४२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनी सेन्सेटिभ इन्डेक्स पनि १३.०३ अंकले उकालो लागेर ५४८.२९ को उचाइमा पुगेको छ। कारोबार रकम पनि साढे ९ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार मुक्तिबहादुर खत्री आज बढाइ सकारात्मक नै रहेको बताउँछन्। ‘बजारले लय समात्ने देखिन्छ’, उनले भने, ‘किनकि बजारमा जति करेक्सन आउनु थियो आयो।’

अब लाभांश खाने समय भएकोले पनि बजार सकारात्मक नै रहने सम्भावना प्रबल रहेको खत्री बताउँछन्। ‘यस्तो बेला लगानीकर्ता राम्रा र बलिया कम्पनीमा लगानी गर्दा उचित हुन्छ’, उनले भने।

अहिले बजारमा लगानीकर्ताहरु विस्तारै राम्रा कम्पनीको सेयर उठाउनतिर लागेजस्तो देखिने पनि खत्री बताउँछन्। ‘उनीहरुले आक्रमण लगानीको तयारीमा रहेको देखिन्छ’, उनले भने।

बजारको लय यो नै हुन्छ भन्ने अवस्था अहिले नै नरहेको पनि खत्री बताउँछन्। ‘लगानीकर्तामा विश्वास फर्किन समय लाग्ने भएकोले अझै केही दिनको कारोबारबाट मात्र बजारको अबको यात्रा प्रस्ट हुन्छ’, उनले भने।

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला आजको बजार बढाइले आगामी दिनको यात्रा सकारात्मक नै रहन सक्ने बताउँछन्। ‘बजार घट्नुपर्ने कारण थिएन’, उनले भने, ‘आजको कारोबारले बेचेर बसेका लगानीकर्ताहरु फेरि बजार पसेकोजस्तो देखिन्छ।’

बजार अब धेरै घट्ने ठाउँ नरहेको पनि बास्तोला बताउँछन्। ‘आर्थिक विधेयक पास हुँदैछ, तरलता पनि सहज हुने देखिन्छ’, उनले भने, ‘बजार बुलिस नै हो, राम्रा कम्पनीमा लगानी गर्दा प्रतिफल राम्रै पाइन्छ।’

आज अन्त्यतिर बैंकिङ सेक्टर बढेकोले बजार रिबाउन्स हुने सम्भावना रहेको बास्तोला बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन जलविद्युत समूह सर्वाधिक ६.३७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ५.१३ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.२५ प्रतिशत, व्यापार समूहमा १.२५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२३ प्रतिशत, वित्त समूहमा ४.०८ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.२७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.५१ प्रतिशत, अन्य समूहमा ०.९७ प्रतिशत, लघुवित्त समूहमा २.०८ प्रतिशत, जीवन बीमा समूहमा १.८४ प्रतिशत र लगानी समूहमा २.३१ प्रतिशतको बढोत्तरी भएको छ।

आज म्युचुअल फन्ड समूहमा ०.२९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका १ करोड ७१ लाख ३३३ कित्ता सेयर ९ अर्ब ४४ करोड ३५ हजार २४४ रुपैयाँले किनबेच भएका छन्।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७३ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अपी पावरको ३१ करोड ५१ लाख रुपैयाँ, नेसनल हाइड्रोको २९ करोड ३४ लाख रुपैयाँ, माथिल्ला तामाकोशीको २५ करोड ७२ करोड रुपैयाँ, रिडी हाइड्रोपावरको २१ करोड ८० लाख रुपैयाँ, रैराङ हाइड्रोपावरको २० करोड ४१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड १ लाख रुपैयाँ, अरुण काबेली पावरको १८ करोड ३८ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावरको १८ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज १३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो दिन नेसनल हाइड्रो, राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, अपी पावर, अरुण काबेली पावर, छ्याङ्दी हाइड्रोपावर, पाँचथर पावर, लिबर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्सको सेयरभाउ १० प्रतिशत तथा हिमालयन पावर पाटर्नर, सिनर्जी पावर, ङादी ग्रुप पावर र शिवश्री हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। यो दिन नेपाल हाइड्रोको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन रैराङ हाइड्रोपावरको सेयरधनीले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले घटेको छ।