काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण सुरु भएको दोश्रो दिन नेप्सेको उच्च तहमा लफडा भएको छ । 

सरकारले गरेको नियुक्ति खारेजीविरुद्ध अदालत गएर न्याय पाई पुनर्बहाली भएका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदलाई संचालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर हुन नदिएपछि लफडा भएको हो । 

सर्वोच्चले साउदको पक्षमा अन्तरिम आदेश दिएलगत्तै नेपाल स्टक एक्सचेञ्जलाई चिठी लेखेर साउदलाई पहिलाकै व्यवस्था अनुसार काममा लगाउन आग्रह गरेको थियो । तर, अध्यक्ष न्यौपानेले भने अदालतको आदेशको अवहेलना गर्दै सीइओ साउदलाई हाजिर हुन दिएनन् । 

यो बिषयमा बिजशालासँग कुरा गर्दै अध्यक्ष न्यौपानेले अर्थमन्त्रालयले चिठी लेखेर रमेश अर्याललाई अर्को व्यवस्था नभएसम्मका लागि नेप्सेको सीइओ तोकेको अवस्थामा फेरि अर्थकै अर्को चिठी नआई साउदलाई हाजिर हुन नदिने जिकिर गरे । 

‘हामीलाई अर्थमन्त्रालयले लिखित रुपमा साउदको पुनर्बहाली भएको र पहिलाकै व्यवस्था अनुसार काम लगाउनु भनेर चिठी पठाउनुपर्छ ।’ न्यौपानेले भने–‘अर्थबाट लिखित निर्देशन नआएसम्म म साउदजीलाई हाजिर हुन दिँन्न ।’ 

उनले कुराकानीको क्रममा आफू अदालतको आदेशको अवज्ञा गर्ने पक्षमा नरहेको उल्लेख गर्दै सिस्टेमेटिक काम होस् भन्ने मात्र चाहेको बताए । 

तर, साउदले अदालतको आदेशपछि मंगलबार कार्यालयमा हाजिर गरिसकेका बिषयमा भने उनले केही बोलेनन् । मंगलबार हाजिर हुन दिएर बुधबार एकाएक रोक्नुले साउदविरुद्ध कुनै षड्यन्त्र भएको हो कि भन्ने कतिपयको बुझाई छ । 

साउद निकटका मानिसहरुले समेत लक्ष्मण न्यौपानेले व्यक्तिगत इगो लिएर साउदमाथि बेमौसमी प्रहार गरेका दाबी गरेका छन् ।