काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई बुधबार अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर गर्न नदिएको बिषय चर्चामा रह्यो । नेप्सेका अध्यक्ष न्यौपानेले बुधबार अफिस नआउनु भनेपछि साउद लामो समयसम्म घरमै बसे । तर, सर्वोच्च अदालतबाट पुनर्बहाली भई जिम्मेवारीमा फर्किएका उनको मन मानेन् र दिउँसो अफिस पुगे । अफिस पुग्दा अध्यक्ष न्यौपाने त्यहाँबाट हिँडिसकेका थिए । 

अध्यक्ष हिँडेपछि कार्यालय पुगेका नेप्से सीइओ साउदले आफ्नो कार्यकक्षमा अर्थमन्त्रालयबाट नेप्सेको सीइओको रुपमा पठाइएका रमेश अर्यालसँग कुराकानी गरे । अर्यालसँग कुराकानी गरेपछि घर फर्किदै गरेका साउदले बिजशालासँग भने–‘म भर्खरै नेप्से पुगेर फर्किदैछु । अध्यक्षजीसँग भेट भएन, अर्यालजीसँग केहीबेर कुराकानी गरेर फर्किएँ ।’ 

अदालतले काम गर्न नरोक्नु भन्ने आदेश दिइसकेपछि अध्यक्ष न्यौपानेले सीइओ साउदलाई रोक्नु गलत थियो । न्यौपानेले अर्थमन्त्रालयले लिखित रुपमा जानकारी नदिई साउदलाई हाजिर गर्न दिँन्न भन्नुले समेत उनले पूर्वाग्रही व्यवहार गरेका हुन् कि भन्ने शंका गर्ने ठाउँ दिन्छ । किनभने अदालतले नेप्से संचालक समितिको नाममा स्पष्ट रुपमा पत्र लेखेर साउदलाई पूर्ववत अवस्थामै काममा लगाउनु भनिसकेको अवस्थामा अर्थको पत्रको बाहानामा हाजिर गर्न रोक्नु कानूनसम्मत नदेखिने कानून व्यवसायीहरुको भनाई छ । अदालतको आदेश नमानेको प्रमाणित भए न्यौपानेमाथि अवहेलनाको मुद्धा लाग्नसक्छ ।  

न्यौपाने नेप्सेबाट निस्किएपछि त्यहाँ पुगेका साउदले अब के गर्लान् ? अध्यक्षको कुरा मानेर भोलि पनि कार्यालय जाँदैनन् ? अथवा, नेप्से अध्यक्षले अदालतको अवहेलना गरेको भन्दै कानूनी उपचारमा पो जाने हुन् कि ? हामीले यिनै प्रश्न नेप्से पुगेर फर्किदै  गरेका साउदलाई पनि सोध्यौं । 
जवाफमा साउदले भने–‘आज म अध्यक्षको मान राखिदिन मात्र नगएको हुँ । मलाई अदालतले पुनर्बहाली गरिसकेको छ । भोलिदेखि अफिस जाने हो, काम गर्ने हो ।’ 

साउदले आफूले काम थालेपछि मंगलबार नै अर्थमन्त्रालयलाई चिठी समेत लेखिसकेको बताएका छन् । ‘मैले अदालतको आदेश अनुसार पुनर्बहाली भई काम थालेको बिषयमा लिखित पत्रमार्फत मंगलबार नै अर्थमन्त्रालयलाई जानकारी दिइसकेको छु ।’ उनले भने–‘अनलाइन कारोबार प्रणालीको परीक्षण सुरु भइसकेको अवस्थामा नेप्सेमा विवाद ल्याउनुहुन्न, लगानीकर्ताको हितको बिषयमा सबै गम्भीर बन्नुपर्दछ ।’