काठमाण्डौ । सर्वोच्च अदालतले नेप्से प्रमुखमा चन्द्र साउदको नियुक्ति खारेजीका लागि मन्त्रीपरिषदबाट भएको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिए पनि बुधबार अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर हुन साउदलाई रोकेपछि उत्पन्न विवाद यथावत छ । 

न्यौपानेले अदालतको आदेशलाई बेवास्ता गर्दै अर्थमन्त्रालयबाट चिठी नपठाई साउदलाई कार्यालयमा हाजिर हुन नदिने अड्डी कस्दै अर्थबाट अर्को व्यवस्था नभएसम्मका लागि नेप्से प्रमुख बनाएर पठाइएका रमेश अर्याललाई नै कार्यालयमा हाजिर हुन लगाएपछि हिजोबाट यो बिषयमा सतहमा आएको हो । 

अध्यक्ष न्यौपानेको आदेशलाई बुधबार केही घण्टा मानेका नेप्से प्रमुख साउद दिउँसो कार्यालय पनि पुगे । त्यहाँ पुगेर फर्किएका उनले बिहीबारदेखि आफू अफिस जाने बताएका थिए । तर, बिहीबार बिजशाला रिपोर्टर करिब २ घण्टा नेप्सेको भद्रकालीप्लाजास्थित कार्यालयमा बस्दा नेप्से प्रमुखको कुर्सीमा साउद देखिएनन् । बरु, नेप्से प्रमुखको कार्यकक्ष र कुर्सीमा अर्थमन्त्रालयबाट पठाइएका रमेश अर्यालले नै देखिए।

स्रोतहरुका अनुसार अर्थमन्त्रालयले अदालतबाट पूर्ण आदेश नआएसम्म नेप्से नछाड्न अर्याललाई निर्देशन दिएको छ । अदालतले काममा फर्कन पाउने गरी दिएको अन्तरिम आदेश मात्र दिएको र १६ गते दुवै पक्षलाई आपसी छलफलका लागि बोलाएको र छलफलपछि मात्र पूर्ण आदेश आउने भन्दै अर्थका अधिकारीहरुले साउदलाई  नहतारिन आग्रह गरिरहेका स्रोतको भनाई छ । 

स्रोतले यस्तो दाबी गरिरहँदा नेप्से प्रमुख साउद भने बिहीबार कार्यालय जान छाडेर अर्थमन्त्रालय पुगेका छन् । अहिले अर्थमन्त्रालयका अधिकारी र उनीबीच छलफल चलिरहेको स्रोतको भनाई छ ।