काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवात आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । 

बिहीबार बधाई दिन उनकै कार्यकक्षमा पुुगेका सेयर लगानीकर्ता संघका पदाधिकारीहरुसँग नेप्से प्रमुख साउदले अनलाइन कारोबार प्रणालीको सुरुवातलाई आफूले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै चाँडै सुरु गर्ने बताएका हुन् । तर, लगानीकर्तालाई उनले कहिलेदेखि अनलाइन कारोबार प्रणालीको थालनी हुन्छ भन्ने बिषय चाहि प्रष्ट्याएनन् । 

संघबाट गएको प्रतिनिधिमण्डलका एक सदस्य तथा सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूूल्लेलले आफूहरुको छोटो भेटमा नेप्से प्रमुख साउद अनलाइन प्रणालीको शीघ्र सुरुवातप्रति प्रतिबद्ध रहेको पाइएको बताए । ‘उहाँको प्रतिबद्धता सुन्दा अब अनलाइन प्रणाली चाँडै सुरु होला भन्ने हाम्रो अपेक्षा छ ।’ उनले भने–‘उहाँलाई बधाई दिन र कार्यकाल सफलताको कामना गर्न हामी गएकोले थप बिषयमा कुरा भएन ।’