काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १८ करोड ४८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २०.५३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा २९.५५ प्रतिशतले घटेर १७ करोड १४ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २४ करोड ३३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १८.०२ प्रतिशतले बढेर ४७ करोड ८७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४० करोड ५६ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ६० करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमासमा ५ अर्ब २५ करोड रुपैयाँ सापटी लिई ९ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ३ अर्ब ८४ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाको रिजर्भको आकार २१.१६ प्रतिशतले बढेर ७१ करोड ५९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ५९ करोड ८ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९८ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ३.२१ प्रतिशतमा सीमित थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.०७ रुपैयाँ, पीई रेसियो २३.८६ गुणा, प्रतिसेयर नेटवर्थ २१९.३२ रुपैयाँ र तरलता अनुपात ३.०१ प्रतिशत रहेको छ।