काठमाण्डौ । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुर शाखाको उद्घाटन गरिएको छ । 
 
बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन् ।
 
सो अवसरमा कम्पनीको नयाँबीमा योजना अमृतश्री नामक अग्रिम भुक्तानी ÷ आजीवन बीमालेखको पनि अध्यक्ष चापागाईले शुभारम्भ गरेका कम्पनीले जनाएको छ । 
 
बीमा समितीको कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थति रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमाप्रति आम नागरिकको विश्वास बढ्दै गइरहेको, नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत पुगेको जानकारी गराउँदै अब बीमा गाउँ केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरे । 
 
उनले देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजी एकीकृत गरी बीमामार्फत सही ठाउँमा प्रयोग भइरहेको स्पष्ट पारे । 
 
विगतमा बीमा भुक्तानीमा केही समस्या आइरहेको भए पनि अब बीमाबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने अवस्था सिर्जना भएको र नेपालका सबै स्थानीय सरकारसँग सहकार्य गरी र्निजीवन बिमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जानकारी समेत दिए ।
 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पुर्याउन आवश्यक रहेको विचार व्यक्त गरे । उनले बीमा समितिको निर्देशनअनुसार बीमा कम्पनीमा २ अरब रुपैयाँ चुक्तापूँजी हुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्ब भन्दा बढी चुक्तापूँजी रहेको र केही समयभित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराए । 
 
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बीमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति र क्षेत्रमा बीमा गर्न आवश्यक रहेको बताए ।
 
ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दक्तराज हमालले कम्पनीलाई प्रशासनिक कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाए । 
 
कम्पनीको प्रदेश नं. ५ का प्रमुख रामचन्द्र तिवारीले कम्पनीको नयाँ बीमालेख अमृतश्री अग्रीम भुक्तानी÷आजीवनसहितको विशेषताहरु बारे कार्यक्रममा जानकारी गराएका थिए । 
 
कार्यक्रमको सहजीकरण कम्पनीका नेपालगञ्ज शाखाप्रमुख दिपनारायण खनालले गरेका थिए।