काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले ९ अर्ब ११ करोड खूद बिमा शुल्क आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीले ७ अर्ब ८० करोड बिमाशुल्क आर्जन गरेको छ । यसरी हेर्दा बिमा शुल्क आर्जनतर्फ नेशनल लाइफ इन्स्योरेन्सले १६.८४ प्रतिशतको प्रगति गरेको देखिएको छ । 

समीक्षा अवधिमा नेशनल लाइफले लगानी कर्जा तथा अन्यबाट हुने आय २ अर्ब ४८ करोड पुर्याएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आय २ अर्ब ९ करोडमा सीमित थियो । 

अघिल्लो वर्ष ३ करोड ८२ लाख रहेको पुनर्बिमा कमिसनबाट प्राप्त हुने आय बढेर यो वर्ष ४ करोड ४६ लाखको उचाईमा पुगेको छ भने ३० करोड ६० लाखमा सीमित बिमालेखको धितोमा कर्जाबाट हुने आय बढेर २८ करोड ८७ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७६ करोड बढी दाबीभुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो दाबी भुक्तानी २ अर्ब ५० करोड रहेको थियो । 

समीक्षा अवधिमा कम्पनीले १२ अर्ब ९४ करोड आम्दानी गरेको देखिएको छ । अघिल्लो वर्ष १० अर्ब ८७ करोडमा सीमित थियो । 

यस्तै, यो अवधिमा कम्पनीको ५ अर्ब ७० करोड व्यय भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिको खर्च ४ अर्ब ८९ करोडमा सीमित थियो । 
यसरी यो कम्पनीले ७ अर्ब २३ करोड रुपैयाँ बचत गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५ अर्ब ९८ करोड मात्रै कचत गरेको थियो । 

बचत रकममध्ये ७ अर्ब ९४ लाख ९९ हजार ५६ रुपैयाँ जीवन बिमा कोषमा सारेको छ भने नाफा नोक्सान हिसाबमा २२ करोड ६७ लाख ६० हजार १०७ रुपैयाँ सारेको छ । 

गत वर्ष यही अवधिमा जीवन बिमा कोषमा ७ अर्ब ७१ करोड ८२ लाख ३३ हजार ७७८ रुपैयाँ तथा नाफा नोक्सान हिसाबमा २६ करोड ७७ लाख ६६ हजार ८३३ रुपैयाँ सारेको थियो । 

समीक्षा अवधिमा नेशनल लाइफको खूद नाफा ३९ करोड १२ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३३ करोड ६३ लाखमा सीमित थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म २७ अर्ब १९ करोडमा सीमित जीवन बिमा कोषको आकार बढाएर यो वर्ष ३३ अर्ब ७२ करोडको उचाई चुमाएको कम्पनीले ९१ करोड ८६ लाखमा सीमति जगेडा तथा कोषको आकार समेत बढाएर १ अर्ब ३ करोडको उचाई चुमाएको छ । यस्तै, २१ करोड ६९ लाखमा सीमित महाविपत्ति जगेडाको आकार बढी २७ करोड ८९ लाखको उचाईमा पुगेको देखिएको छ । 

अघिल्लो वर्षसम्म ७ लाख २१ हजारमा सीमित बिमालेखको संख्या बढाएर ८ लाख १० हजार ८३२ को उचाईमा पुर्याएको कम्पनीको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी १६.९२ रुपैयाँ, पीई अनुपात ३९.१२ गुणा, प्रतिसेयर नेटवर्थ १३३.६१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३४०.०४ रुपैयाँ कायम भएको छ ।