काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । 

दुवै संस्थाका संचालक समितिका अध्यक्षबीच बिहीबार साँझ गाभ्ने/गाभिने विषयमा प्रारम्भिक समझदारीपत्र हस्ताक्षर भएको हो । 

काठमाण्डौको होटल अम्बासडरमा आयोजित एक कार्यक्रमका बीच नेशनल माइक्रोफाइनान्सका संचालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्रा लघुवित्तका अध्यक्ष अमृतचरण श्रेष्ठले एमओयूमा हस्ताक्षर गरेका हुन् । 

नेशनल माइक्रोफाइनान्स ७ प्रदेशका ४३ वटा जिल्लामा फैलिएका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको संस्था हो । यो लघुवित्तमा ४ वाणिज्य बैंकहरुले ४८.५ प्रतिशत, ३ वटा विकास बैंक र वित्तीय संस्थाले १२.५ प्रतिशत, व्यक्तिगत संस्थापकले ९ प्रतिशत र सर्वसाधारणले ३० प्रतिशत लगानी गरेका छन् । 

नेशनल माइक्रोफाइनान्सको चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । 

यस्तै, मकवानपुरको थाहा नगरपालिका वडानम्बर ९ मा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्तको सेवा २, ३, ४ र ५ प्रदेशका विभिन्न १८ जिल्लामा विस्तार भएको छ । यो कम्पनीको चुक्तापूँजी ११ करोड रहेको छ । अधिकृत पूँजी भने २० करोड रुपैयाँ रहेको छ ।