काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ४४.९७ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले ९ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफाबापत २१ करोड २९ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १४ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म संस्थाले २५ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष १८ करोड ७२ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाले ४ अर्ब ८ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वष यही अवधिसम्म संस्थाले २ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार  ५३.३७ प्रतिशतले बढेर ३४ करोड ९३ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २२ करोड ५१ लाख रुपैयाँ थियो।

चु्क्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७०.१० रुपैयाँबाट बढेर १०१.६२ रुपैयाँ पुगेको छ। पीई रेसियो २३.६७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३०.७८ रुपैयाँ रहेको छ।