काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंकलगायत १० वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच बुधबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। 

संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरु आपसमा मर्जरमा जाने सम्बन्धमा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्षद्वारा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। 

समझदारीअनुसार समिट लघुवित्तको मर्जर स्वाप रेसियो अनुपात रु. ८२ (अर्थात समिट लघुवित्तको १०० कित्ता सेयरबराबर नेसनल माइक्रोफाइनान्सको ८२ कित्ता) कायम हुनेछ। मर्जरपश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेसनल माइक्रोफाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा रामबहादुर यादव रहने सहमति भएको छ। संयुक्त मर्जर समितिका संयोजकका रुपमा क्षितिज खड्का मनोनित भएका छन्। 

मर्जरपश्चात हुने संस्थाको नाम नेसनल समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ। संस्थाको चुक्तापुँजी रु.१ अर्बभन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाखभन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम रु. १७ अर्बभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लामा विस्तार भई कुल शाखा संख्या २०४ पुग्नेछ।

यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ।