–अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली धितोपत्र बोर्ड (सेबोन)ले कार्यकारी निर्देशकका लागि कर्मचारीहरुको कार्यक्षमता मूल्यांकनका आधारमा बढुवाद्वारा पदपूर्ति गर्न सूचना जारी गरेको ९ महिना बित्दा पनि पदपूर्ति गर्न सकेको छैन। 

बोर्डका केही कर्मचारी आफ्नो मूल्यांकन कम भए पनि कार्यकारी निर्देशकको कुर्सीका लागि कसरत सुरु गरेसँगै पदपूर्तिको समय योजनाबद्ध रुपमा लम्ब्याइएको बोर्डनिकट एक कर्मचारीले बताए। ‘बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमाल पनि कार्यकारी निर्देशकको पदका लागि आफूनिकट साथै आफूले रुचाएको कर्मचारी ल्याउन लागिपर्नुभएको छ’, ती कर्मचारीले भने।

बोर्डले २०७८ भदौ १६ गते कार्यक्षमताको मूल्यांकनका आधारमा बोर्डमा दुईजना कार्यकारी निर्देशक पदका लागि पदपूर्ति गर्न भन्दै सूचना प्रकाशित गरेको थियो। सूचना प्रकाशित भएको महिनौँ बितिसकेको छ। त्यसका साथै बोर्डले पदपूर्तिको लागि नै भनेर पटक पटक बैठक पनि बसिसकेको छ। पदपूर्तिका लागि नै पटक–पटक बैठक बस्नुका साथै मिटिङको नाममा लाखौँ खर्च हुँदा पनि पदपूर्ति नभएकाले उक्त पदपूर्तिका लागि बोर्डमा कार्यरत केही कर्मचारीको स्वार्थ बाझिएको बुझिन्छ।

‘गत चैत १८ गते बोर्डको सवारीचालकको स्तरवृद्धिका लागि सूचना जारी गरिएको थियो। उक्त सूचनाका आधारमा वैशाख ३ मा नै सवारीचालकको स्तरवृद्धि भइसकेको छ। तर भदौमा जारी गरिएको सूचनाअनुसार कार्यकारी निर्देशकका लागि पदपूर्ति भने अहिलेसम्म हुन् सकेको छैन’, बोर्डका अर्का एक कर्मचारीले भने, ‘बोर्डमा कार्यकारी निर्देशकको पदपूर्तिभन्दा ड्राइभरको स्तरवृद्धि कहिलेदेखि महत्वपूर्ण हुन् थाल्यो ? नवनियुक्त अध्यक्षजू साथै अन्य स्वार्थ भएका केही कर्मचारीले बोर्डको ताला पनि आफँै चाबी पनि आफैँ राख्न खोजेको बुझिन्छ। कर्मचारीले नै परिचालन नगर्ने अनि कर्मचारीले नै काम गर्न नपाएपछि बोर्डबाट बजार विकास र विस्तारको काम होला भन्ने कसैले आश नगरे पनि हुन्छ।’

अर्थ मन्त्रालयनिकट एक कर्मचारीका अनुसार बोर्डको कार्यकारी निर्देशकको पदपूर्तिका लागि कार्यक्षमता मूल्यांकनको विषय मन्त्रालयसम्म आएको बताए। ‘धितोपत्र बोर्डले गत भदौमा जारी गरेको कार्यकारी निर्देशकको पदपूर्तिका लागि कर्मचारीहरुको कार्यक्षमताअनुसार मूल्यांकनबारे उहाँहरुको इस्यू रहेछ’, ती कर्मचारी भन्छन्, ‘बोर्डबाट नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा सर्त नियमावली २०७५ को बुँदा नं. ४२ मा उल्लेख भएको शैक्षिक योग्यता बापत प्रदान गरिने अंकबारे ईस्यू आएको थियो। अर्थले उक्त विषय संघीय मामिलामा पठाउँदा बोर्डको नियमावलीबमोजिम नै कर्मचारीहरुलाई मूल्यांकन गरी अंक प्रदान गर्न सिफारिस आएको थियो। हामीले त्यसअनुरुप नै गत शुक्रबार बोर्डलाई उक्त सिफारिस पठाइसकेको छौँ। अब बाँकी पदपूर्तिका लागि काम भने बोर्डबाट नै हुन्छ।’

बोर्डमा उक्त सिफारिस गत शुक्रबार नै गए पनि कार्यकारी निर्देशकको पदपूर्ति अहिलेसम्म हुन सकेको छैन। बोर्ड अध्यक्षका साथै केही उक्त पदका आकांक्षी कर्मचारीहरुले विभिन्न बहानामा पदपूर्ति नगरेको बोर्डका कर्मचारीहरुले गुनासो राखेका छन्। 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले कार्यकारी निर्देशकको पदपूर्ति टेक्निकल पाटाका केही समस्याहरुले गर्दा ढिलाइ भएको बताए। ‘टेक्निकल कुराहरु क्लियर भएसँगै सम्भवतः आजभोलिमा नै उक्त विषयमा निर्णय हुन्छ’, उनले भने।