काठमाण्डौ । बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न नेपाल राष्ट्रबैंकले आइतबार २० अर्ब बराबरको २ हप्ते रिपो उपकरण जारी गर्ने भएको छ ।

अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनिकरण गर्दै ब्याजदरमा स्थायीत्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले ब्याजदर करिडर लागू गरेको थियो । सोही व्यवस्थालाई लागू गर्न तरलताको अवस्था हेरेर केन्द्रीय बैंकले २ हप्ते अवधिको निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने गर्छ । यो क्रममा तरलता न्यून हुँदा रिपो जारी गरिन्छ भने अधिक हुँदा रिभर्स रिपो  जारी  गरिन्छ । 

ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर  ७ प्रतिशत, तल्लो सीमाको रुपमा २ हप्ता अवधिको निक्षेप संकलन दर ३ प्रतिशत तथा ब्याजदर करिडर अन्तर्गत नै २ हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । 

पछिल्लो समय बजारमा तरलता घटेर २२.४२ अर्बमा सीमित बन्न पुगेको छ । एकसाताअघि ३ प्रतिशतमा सीमित अन्तर बैंक ब्याजदरले ५ प्रतिशतको सीमा पनि नाघेपछि केन्द्रीय बैंकले रिपो उपकरण जारी गर्न खोजेको हो ।

हाल प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधानका लागि रिपो उपकरणमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउन लागिएको हो । यो उपकरणमार्फत  बजारमा पठाइने पैसा बैंकहरुले पाउने र यसले तरलता व्यवस्थापन हुने केन्द्रीय बैंकले जनाएको छ । 

आइतबार जारी हुने रिपो माघ २८ गते परिपक्व हुनेछ । 

तरलता  व्यवस्थापनकै लागि बिहीबार समेत  ५ अर्ब बराबरका सरकारी ऋणपत्र सोझै खरीद गरिदिने गरी नेपाल राष्ट्रबैंकले अक्सनको नोटिस जारी गरेको थियो । तर, २ वटा बैंकहरुले १ अर्ब मात्रै पैसा उठाए ।

के हो रिपो र रिभर्स रिपो ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाहका लागि प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको  केन्द्रीय बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिका लागि तरलता प्रवाह हुन जान्छ ।

बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ । रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको टे«जरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ । 

यसैबीच, बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको केन्द्रीय बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ । 

रिपो तथा रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र केन्द्रीय बैंक बीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रीमेण्ट भएको हुनुपर्दछ । अन्यथा रिपो र रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन ।