काठमाण्डौ । विश्वव्यापी महामारीका क्रममा विदेशबाट फर्केकाहरुलाई राख्न क्वारेन्टाइनका रुपमा होटल उपलब्ध गराउन व्यवसायी सहमत देखिएका छन्। 

होटल एसोसिएसन नेपालद्वारा सोमबार जारी विज्ञप्तिमा सरकारलाई क्वारेन्टनका रुपमा उपभोग गर्न होटल दिने सहमति भएको उल्लेख छ। पर्यटन विभागका अधिकारीसँग होटल एसोसिएसनकी अध्यक्ष सिर्जना राणाको नेतृत्वको प्रतिनिधिमण्डलले गरेको छलफलपछि यस्तो सहमति जुटेको विज्ञप्तिमा स्पष्ट पारिएको छ। 

विज्ञप्तिमा एसोसिएसनसँग आबद्ध सदस्य होटलहरुले राज्यसँगको समन्वयमा पहल क्वारेन्टाइनका लागि होटल उपलब्ध गराउने एसोसिएसनले निर्णय गरेको छ। 

एसोसिएसनले क्वारेन्टाइनका रूपमा प्रयोग बारेमा विस्तृत विवरण पर्यटन विभागलाई समेत बुझाएको छ। स्वाथ्यकर्मी तथा अग्रपंक्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिएकाहरुलाई समेत आवश्यकताअनुसार होटल गर्न सकिने एसोसिएसनले जनाएको छ। 

क्वारेन्टाइनका रूपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेकइनअघि नै उपयुक्त स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकिन हुने प्रमाण हुनुपर्ने र प्रत्येक दिन स्वास्थ्य जाँच हुनुपर्ने सर्त एसोसिएसनले विज्ञप्तिमार्फत अगाडि सारेको छ। एसोसिएसनले कामदार कर्मचारी तथा छिमेकका स्थानीय समुदायसमेत कोरोना संक्रमणबाट पूर्ण रूपमा बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहवरमा होटल सञ्चालन हुनुपर्ने सर्त राखेको छ। 

एसोसिएसनले क्वारेन्टाइनमा आवश्यक पर्ने खानादेखि कर्मचारीको तलबसम्म सरकारले दिनुपर्ने जनाएको छ। ‘क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवद्र्धक आहार, आधारभूत सेवा सुविधा, सञ्चार, पानी, बिजुली लगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु सरकारले दिनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ। 

पर्यटकस्तरदेखि पाँच तारे होटलहरुमा लाग्ने अनुमानित खर्चहरुको शीर्षकअनुसार न्यूनतम आधारको रूपमा दिइनुपर्ने एसोसिएसनको माग छ। क्वारेन्टाइनका रूपमा होटल सञ्चालनको निर्णय सञ्चालकको स्वेच्छामा भर पर्ने पनि एसोसिएसनले स्पष्ट पारेको छ।