काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनने पेमेन्ट सर्भिस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत ३० गते न्यू इयर इभका दिनमा फोनपेमार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ। 

यस अफरअन्तर्गत न्यू इयर इभका दिनमा फोनपेमार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी)  गरी २० जनाले आकर्षक अफर प्राप्त गर्नेछन्। यस अफरअन्तर्गत फोनपेमार्फत कारोबार गर्नेमध्येबाट भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले  हेलिकप्टरमार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ। 

फोनपेले डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्वजनिक गरेको हो। यो योजनामा चैत २९ गते राति १२ बजेदेखि चैत ३० गते राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन्। विजेता गोलाप्रथामार्फत घोषणा गरिनेछ। 

यस्तै सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेका छन्। सोही दिन एनआईसी एशिया बैंक, इसेवा, लक्ष्मी बैंक, एनएमबी बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आइएमई पे, खल्ती, प्रभुपेमार्फत क्यूआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिनेछ। 

यसैगरी भोजडिल, फुडमाण्डु, सेल्सबेरी, डेली ग्रोसरी, खानपिनलगायतका ठाउँमा क्यूआर भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त सकिनेछ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ।