काठमाण्डौ । पोर्न स्टारसँगको सम्बन्धका विषयमा परेको मुद्दामा पक्राउ पर्ने सम्भावना बढेपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने तयारी गरेका छन्। 

यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई रकम भुक्तानीको मामिलामा चलेको हो। यस मामिलामा ट्रम्पले कस्तो आरोपको सामना गर्नेछन् भन्नेबारे जानकारी हाल दिइएको छैन। निर्णायकको भोटिङपछि ७६ वर्षीय ट्रम्पमाथि मुद्दा चलाउने बाटो खुला हुनेछ। 

ट्रम्पले यस मामिलामा आफूमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै आएका छन्। हाल फ्लोरिडामा बस्दै आएका ट्रम्पको पहिलो सुनुवाइका लागि अदालतमा आउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उनले अर्को साता अदालतमा आत्मसमर्पण गर्न सक्ने पनि खबरहरु आएका छन्। 

अदालतमा ट्रम्पको सुरक्षा गर्ने जिम्मेवारी अमेरिकी सिक्रेट सर्भिसले पाएको छ।

जनवरी २०१८ मा अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले एउटा लेख प्रकाशित गरेको थियो। त्यसमा राष्ट्रपति ट्रम्पका तत्कालीन सल्लाहकार माइकल कोहेनले अमेरिकी राष्ट्रपति चुनावको एक महिनाअघि अक्टोबर २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो।

जर्नलका अनुसार यो पैसा उनले ट्रम्पसँगको अफेयरका बारेमा सार्वजनिक नगर्ने सम्झौताअन्तर्गत दिइएको हो।

कानुनी रुपमा यो भुक्तानी अवैध थिएन तर जब ट्रम्पले कोहेनलाई भुक्तानी गरे उनले यसलाई कानुनी शुल्कको रुपमा रेकर्ड गरे।

न्युयोर्क प्रशासनका वकिलहरुका अनुसार यो ट्रम्पले आफ्ना कागजातहरुसँग छेडछाड गरेको घटना हो। जुन न्युयोर्कमा आपराधिक कार्य हो। –एजेन्सी