काठमाण्डौ । पछिल्लो समय युरोपबाट चीनमा कोरोना संक्रमण भित्रिएको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन्। 

केही दिनयता चीनको राजधानी बेइजिङसहित विभिन्न सहरमा कोरोना संक्रमणको मामिला देखिन थालेका छन्। चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित विरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ।

पछिल्लो चरणमा सङ्क्रमण पुष्टि भउका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको सङ्क्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए। चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उनको दाबी छ। 

सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन्। यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो।  

यसैबीच चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको भन्दै परीक्षणलाई कडा पारेको छ। चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमित भेटिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड) को परीक्षणमा कडाई गरेको थियो।

चीनको राजधानी बेइजिङमा नयाँ विरामी भेटिएपछि सङ्क्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना सङ्क्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन्। चीनले गत डिसेम्बरमा पहिलो कोभिड–१९ विरामी भेटेपछि करिब तीन महिनाको अवधिमा गरेको अथक प्रयासपछि चीनमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणमा आएको बताएको थियो।

केही दिन पहिले चीनको राजधानी नजिकै रहेको सिनफादी मासु बजार क्षेत्रमा कार्यरत व्यवसायी तथा कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त बजारसँगको सम्पर्क रहने स्थानीय वस्ती र विद्यालयहरू बन्द गरेर परीक्षण तथा उपचारमा तदारूकता देखाएको थियो।

आइतबार सङ्क्रमितमध्ये एक नर्स पनि रहेको बेइजिङले जनाएको छ। सिनफादीमा सङ्क्रमण देखिएपछि गरिएका परीक्षणमा अहिलेसम्म २२० जना सङ्क्रमित भेटिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ।

पछिल्लो पटक सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि सिनफादी वरपरका करिब २०० वस्तीमा करिब २३ लाख नागरिकको कोभिड–१९ परीक्षण गरिएको बताइएको छ। – एजेन्सी