– रेखा चन्द
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अहिले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सुरु गरिसकेका छन्। 

वित्तीय विवरण सार्वजनिक गरिसकेपछि आफ्नो कमाइको हिसाबले बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्न सुरु गर्छन्। 

लाभांशकै कुरा गर्दा सरकारीस्तरबाट सञ्चालित ३ वटा वाणिज्य बैंकहरु पछिल्लो ३ वर्षको लाभांशको अवस्था निकै आकर्षक देखिएको छ। 

पछिल्लो ३ वर्षमा कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश दिएका छन्। कृषि विकास बैंक र नेपाल बैंक नेप्सेमा सूचीकृत छन् भने राष्ट्रिय वाणिज्य बैंकले नेप्सेमा सूचीकृत छैन। 

आर्थिक वर्ष २०७५–७६ देखि २०७७–७८ सम्म आउँदा कृषि विकास बैंक र नेपाल बैंकले कुल १२४.८४२१% लाभांश सेयरधनीलाई दिएका छन्। जसमा कृषिले ६६.८४२१% र नेपाल बैंकले ५८% प्रतिफल बाँडेका हुन्। 

कृषिले आर्थिक वर्ष २०७५–७६ मा बोनस ६% दिएकोमा २४% नगद गरी जम्मा ३०.००% लाभांश दिएको थियो। आर्थिक वर्ष २०७६–७७ मा यो बैंकले बोनस १५% र ०.७८९५% नगद गरी कुुल १५.७८९५% लाभांश प्रदान गरेको थियो। यस्तै बैंकले आर्थिक वर्ष २०७७–७८ मा २०% बोनस र १.०५२६% नगद गरी कुुल २१.०५२६% लाभांश वितरण गरेको थियो। 

उता नेपाल बैंकले आर्थिक वर्ष २०७५–७६ मा बोनस १५% दिएकोमा १०% नगद गरी जम्मा २५% लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७६–७७ मा बोनस १२% र ४.००% नगद गरी कुुल १६% लाभांश प्रदान गरेको थियो। 

यस्तै बैंकले आर्थिक वर्ष २०७७–७८ मा १४% बोनस र ३.००% नगद गरी कुुल १७% लाभांश वितरण गरेको थियो। 

तथ्यांक हेर्दा विगत ३ वर्षमा कृषि विकासले वार्षिक औसत २२.२८०७% लाभांश बाँडेको छ भने नेपाल बैंकले १९.३३% लाभांश दिएको छ। 

यस्तै राष्ट्रिय वाणिज्य बैंकले भने पछिल्लो ३ वर्षमा लगानीकर्तालाई कुल ४९.५% लाभांश वितरण गरेको छ। बैंकले आर्थिक वर्ष २०७५–७६ मा कुल १२% नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७६–७७ मा बोनस २% र २.५०% नगद गरी कुुल ४.५०% लाभाशं प्रदान गरेको थियो। बैंकले आर्थिक वर्ष २०७७–७८ मा ३०% बोनस र ३% नगद गरी कुुल ३३% लाभांश वितरण गरेको थियो।

यो बैंकको तीन वर्षको वार्षिक औसत लाभांश दर १६.५% लाभांश रहेको छ।