काठमाण्डौ । सन् २००८ नोभेम्बर १० को रात त्यतिबेलाका भारतका १० औँ धनीव्यक्ति मुम्बईको ताजमहल होटलमा डिनर गर्दै थिए। त्यति नै बेला बन्दुकधारीहरुले अचानक गोली र ग्रेनेड प्रहार गरे।

अत्याधुनिक हातहतियार बोकेका १० पाकिस्तानी लडाकु त्यो साँझ समुद्रबाट आएका थिए। छुट्टाछुट्टै समूहमा विभाजित ती लाडकूले सवारीसाधन अपहरण गर्दै दुईवटा महँगो होटललाई आफ्ना निशानामा पारे। ६० घन्टासम्म कब्जामा लिइएका १६६ जनाको ज्यान गयो र यो घटनाले भारत र पाकिस्तानबीचको सम्बन्धमा थप चिसोपन ल्यायो।

पछि गौतम अडानीले इन्डिया टुडे म्यागजिनलाई भने, ‘होटेलका कर्मचारीहरुले खाना खाइरहेकाहरुलाई हतारहतार केही घन्टाका लागि बेसमेन्टमा राखे र बाहिर रक्तपातपूर्ण अवस्था भइरहँदा हामीलाई माथिल्लो तलाको हलमा सारेका थिए।’

हल १०० पाहुनाले भरिएको थियो। ‘कोही सोफामुनि लुकेका थिए’, अडानीले भने, ‘कोही जीवनका लागि प्रार्थना गर्दै उम्किन खोजिरहेका थिए।’ 

त्यतिबेला आफू सोफामा बसिरहेको अडानी सम्झिन्छन। ‘मैले त्यहाँ फसेका पाहुनाहरुलाई  भगवानमा विश्वास राख्न भनेको थिएँ’, उनले भने, ‘त्यहाँबाट मैले ५०० किलोमिटर टाढा अहमदाबादस्थित पिडामा रहेका परिवारलाई फोन गरेँ।’ त्यतिबेला उनका सुरक्षाकर्मी र चालक डराएको अवस्थामा बाहिर उभिरहेका थिए।

होटेलमा एक रात बिताएपछि सैनिक टोलीको घेराबन्दीमा भोलिपल्ट बिहान अडानी र उनीसहितका बन्धकलाई होटेलको पछाडिको गेटबाट बाहिर निकालिएको थियो। ‘म १५ फिटमात्रै टाढाको दूरीमा मृत्यु देखेँ’, सोही दिन आफ्नो निजी विमानमा अहमदाबाद फर्केपछि उनले सञ्चारकर्मीसँग भने। 

उपरोक्त घटनाको करिब १४ वर्षपछि ६० वर्षीय अडानी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन्। उनी एलन मस्क र जेफ बेजोसपछि विश्वकै धनीव्यक्ति हुन्।

अडानीको आधिपत्य बन्दरगाहदेखि ऊर्जासम्म क्षेत्रमा छ। त्यहाँ उनले २३ हजारलाई रोजगारी दिएका छन्। उनको व्यवसायको बजारमूल्य २३० अर्ब डलरभन्दा बढी रहेको छ। 

भारतको सबैभन्दा प्रतिष्ठित समाचार नेटवर्क एनडीटीबी किन्न लागेको भनेर अहिले अडानीको निकै चर्चा पभइरहेको छ। सञ्चारको क्षेत्रमा उनले लिएको यो पहिलो महत्वपूर्ण जोखिम हो।

विद्यालय शिक्षा छाडेर व्यवसायमा लागेपछि अडानी धेरै समय अगाडि नै अर्बपति बनेका थिए। उनीसँग उच्च जोखिम मोल्न सक्ने क्षमता छ।

सन् १९९८ मा जनावरीमा अडानी र उनका सहयोगीलाई अहमदबादबाट बन्दुकधारीको समूहले फिरौतीका लागि कारबाटै अपहरण गरेको खबर पनि आएको थियो। अडानी र उनका सहयोगी बारम्बार अदालतले बयान दिन बोलाउँदा पनि नगएपछि अपहरणको आरोप लागेका दुई व्यक्ति सन् २०१८ मा रिहा भएका थिए। 

लो प्रोफाइल भनेर चिनिने अडानी यस्ता घटनाबारे धेरै चर्चा गर्दैनन्। तर, एकपटक उनले पत्रकारलाई भने, ‘मेरो जीवनमा दुई वा तीनवटा धेरै दुर्भाग्यपूर्ण घटना भएका छन्।’ 

अडानी १६ वर्षको उमेरमा स्कुल छाडेर व्यवसायमा हात हाल्न मुम्बई गए। त्यतिबेला उनी हीराको व्यवसाय गर्थे। तर, यो व्यवसाय धेरै समय टिकेन। 

दुई वर्षपछि अडानी आफ्नो गृह राज्य गुजरात फर्किए र आफ्ना दाजुभाइले चलाएको उद्योग सञ्चालन गर्न थाले। अडानी गुजरात कोइलाबाट चल्ने भारतै निजी पावर स्टेसनको मालिक हो।

कपडा व्यवसाय गर्ने मध्यमवर्गीय परिवारमा जन्मिएका अडानीले सन् १९९८ मा सामानको व्यापार गर्न आफ्नै कम्पनी खोलेपछि पछाडि फर्केर हेर्नुपरेको छैन। त्यसयता विगत २४ वर्षदेखि बन्दरगाहदेखि खानी, रेलमार्ग, पूर्वाधार, ऊर्जा र घरजग्गासम्म ऋण बोकेका कम्पनीहरुमा उनले हात हालेका छन्।

यस्तो जोखिम मोल्नुलाई एकजना टिप्पणीकारको व्याख्या गर्दै भन्छन्, ‘भारतको नयाँ पुस्तकमध्ये धेरै आक्रामक व्यसाय गर्ने अडानी मात्रै हुन्।’ 

अब यसमा कुनै शंका छैन कि अडानी भारतको सबैभन्दा ठूलो पूर्वाधार व्यवसायी हुन्। उनी भारतको दोस्रो ठूलो सिमेन्ट उद्योग, १३ वटा बन्दरगाह र सात विमानस्थलका मालिक हुन्। उनी अहिले दिल्ली र मुम्बईबीचमा देशकै सबैभन्दा लामो एक्सप्रेसवे निर्माण गरिरहेका छन्।

अडानी भारतको ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो निजी व्यवसायी हुन्। उनका कोइलाबाट चल्ने ६ वटा पावर स्टेसन छन्। यससँगै अडानीले ग्रिन हाइड्रोजनमा ५० अर्ब डलर लगानी गर्ने र ८ हजार किलोमिटर लामो प्राकृतिक ग्यास पाइपलाइन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले इन्डोनेसिया र अस्ट्रेलियामा पनि कोइला खानी किनेका छन्। 

अडानीले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा उत्पादनमा विश्वको शीर्ष व्यक्ति बन्ने लक्ष्य राखेका छन्। अडानीको व्यापार विस्तारको गति र मात्रा विगतका ठूला उद्योगीसँग तुलनायोग्य रहेको नीति विश्लेषक जेम्स र्क्याब्ट्री बताउँछन्। ‘भारतको कमजोर पूर्वाधारको भर पर्न नसकेर उनले आफ्नै निजी रेलवे र पावर लाइन निर्माण गरे’, उनले भने, ‘घरेलु कोइलामा पहुँच सजिलो नभएकोले उनले इन्डोनेसिया र अस्ट्रेलियामा खानी किनेका छन् र आफ्नो बन्दरगाहबाट भारतमा सामग्री ल्याएका छन्।’

यहाँसम्म कि अडानीले धेरै विवादको सामना गर्नुपरेको छ। नरेन्द्र मोदी पहिलोपटक गुजरातको मुख्यमन्त्री बनेपछि उनीसँग अडानीको घनिष्ट सम्बन्ध सुरु भयो र अहिले पनि उनी प्रधानमन्त्री हुँदा पनि जारी छ। त्यसैले पनि कतिपय आलोचकले उनीहरुलाई साम्राज्यवादी क्रोनी पुँजीवादको उदाहरण भनेका छन्। उनीहरुबीच राम्रो सम्बन्ध छ।

‘यी दुईले आफ्नो पेसामा एकअर्कालाई फाइदा पुर्याएका छन्। मोदीको व्यवसायमैत्री नीतिले अडानीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत गरेको छ। अडानीले आफ्ना कम्पनीहरुका हेरचाह गरेको छ र मोदीले ‘गुजरात मोडेल’को छाप दिँदै धेरै मेगा प्रोजेक्टहरु निर्माण गरेका छन्। आयोजनाहरूले पूर्वाधार निर्माण गरेका छन्, विदेशी पुँजी आकर्षित गरेका छन्’, र्क्याब्ट्रीले भने।

अडानीको कोइला खानी क्विन्सल्याण्ड अस्ट्रेलियामा २०१९ मा निर्माण कार्य सुरु हुनुअघि वातावरणीय मुद्दामा स्वीकृति पाउन निकै ढिलाइ भएको थियो र त्यसको पक्ष र विपक्षमा समूह गठन भएका थिए।

अस्ट्रेलियामा रहेको गैरलाभकारी संस्था अडानीवाच नामक वेबसाइटले ‘विश्वभर अडानी समूहका दुष्कर्महरु पर्दाफास गर्ने’ दाबी गरेको छ। अडानी समूहले अस्ट्रेलियामा कानुन तोडेको आरोप अस्वीकार गरेको छ।

सन् २०१९ मा अस्ट्रेलियामा अडानीको कोइलाखानीको विषयलाई लिएर क्विन्सल्यान्डमा विरोध प्रदर्शनहरु भएका थिए। 

सन् २०१२ मा भारतको सरकारी लेखापरीक्षकले गुजरातका तत्कालीन मुख्यमन्त्रीलाई सरकारी ग्यास कम्पनीका अडानी र अन्य व्यवसायीलाई सस्तो इन्धन उपलब्ध गराएको आरोप लगाए।

सन् २०१७ मा एक पत्रकारले अडानीको कम्पनीले निगरानीमा मोदीबाट अनुकूल व्यवहार पाएको दाबी गर्दै लेखहरुको शृंखला लेखेका थिए। अडानीको कम्पनी र मोदी सरकार यस्ता आरोपको लगातार खण्डन गर्दै आएका छन्।

अडानीका जीवनीकार आरएन भास्कर भन्छन्, ‘अडानीको सम्बन्ध निर्माण र कायम राख्ने क्षमताले उसलाई व्यापार बढाउन मद्दत गर्यो।’

केरलामा अडानीको बन्दरगाह परियोजना सत्तामा रहेको वर्तमान प्रमुख प्रतिपक्षी दल कांग्रेसले स्वीकृत गरेको थियो र अहिले त्यहाँ कम्युनिस्ट राज्य चलिरहेको बेला उनीहरुले पनि समर्थन गरेका छन्। –बीबीसीबाट भावानुवादित