काठमाण्डौ । सरकारद्वारा भ्रष्टाचार र गुटबन्दीको आरोपमा बर्खास्त नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सर्वोच्च अदालत पुुगेका छन् । 
 
उनले बुधबार सरकारले आफूलाई बर्खास्त गर्न गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले सरकारको निर्णय कानून विपरीत भएको दाबी गर्दै त्यसविरुद्ध अन्तरिम आदेशको माग गरेका छन् । 

उनले आफूलाई चारवर्षका लागि नियुक्त गरिएको र डेढ वर्ष अझै बाँकी रहेकोले सरकारको निर्णय गलत रहेको जिकिर गरेका छन् । खड्काले आफूमाथि लागेको आरोप प्रमाणित नभएको र आफूलाई सुनुवाईको मौका नदिई गलत ढंगले बर्खास्त गरिएको दाबी समेत रिट निवेदनमा गरेका छन् ।

 प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण पूर्व बसेको मन्त्रीपरिषदको बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रस्तावमा आयल निगमको जग्गा खरीदमा अनियमितता गरेको र निगममा गुटबन्दी गरेको भन्दै खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको थियो । असोज २ गतेको क्याबिनेटको सो निर्णयविरुद्ध खड्का सर्वोच्च पुुगेका हुन् ।