काठमाण्डौ । इन्धन प्रयोगको विषयमा विश्व जगत यतिबेला कठिन अवस्थामा रहेको छ। 

जलवायु परिवर्तनको यो अवस्थामा जीवाश्क इन्धनको प्रयोगमाथि प्रश्न उठिरहेको छ। पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ र विश्वबाट कार्बन उत्सर्जनमा कमी ल्याउने लक्ष्य हासिल गर्न नसकिने अवस्था सिर्जना भएको छ। 

ऊर्जाको यो संकट रुस–युक्रेन युद्धबाट थप उजागर भएको छ। रुसी ग्यासमाथि युरोप कुन हदसम्म पर निर्भर छ भन्ने तथ्यको पर्दाफास भएको छ। त्यसैले नै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले परमाणु पुनर्जागरणको समय आएको बताएका छन्। 

म्याक्रोनले ५ वर्षअघि परमाणु विद्युत उत्पादन एक तिहाइले घटाउने घोषणा गरेका थिए। फ्रान्सका साथै अन्य देशहरुले पनि फुकुसीमा दुर्घटनालाई मध्यनजर गर्दै म्याक्रोनको जस्तै आशय व्यक्त गरेका थिए। तर अहिले विशेष गरेर ग्यासको मूल्यवृद्धि भएपछि परमाणु ऊर्जाप्रति विश्वको बुझाइ र नजर बदलिँदैछ। रुस–युक्रेन युद्धबाट सिर्जना भएको समस्याले यसमाथि पुनर्विचार गर्न थप दबाब परेको छ। 

जीवाश्म इन्धनबाट विश्वको दुई तिहाइ विद्युत र हरित ग्यास उत्सर्जन हुने गर्छ। तर, हावर्ड युनिर्भसिटीको अध्ययनका अनुसार जीवाश्म इन्धनबाट सन् २०१८ मा वायुप्रदुषणबाट ८० लाख मानिसको मृत्यु भएको थियो। 

जुन गतिमा ऊर्जा उत्पादन भइरहेको छ, त्यसले यो वर्ष उत्सर्जन १४ प्रतिशतले वृद्धि हुनेछ। यसले यो शताब्दीसम्म पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसको लक्ष्यलाई समाप्त गरिदिनेछ। 

अब विश्वसामु दुईवटा विकल्प छन्– परमाणु र नवीकरणीय ऊर्जा। नवीकरणीय ऊर्जाबाट विद्युत उत्पादन गर्ने सीमित क्षमता छ। यसका साथै यसका लागि थुप्रै सामग्रीको आवश्यक पर्ने गर्छ। ग्रिडसम्म ऊर्जा पुर्याउनका लागि मौसममाथि पनि निर्भर रहनुपर्छ। 

परमाणु ऊर्जा कसरी उत्पादन गरिन्छ ?

परमाणु ऊर्जा भट्टीमा विद्युत उत्पादन गर्नका लागि परमाणु विखन्डन गरिन्छ। एउटा भारी परमाणुलाई विभाजन गरेर एउटा मल्टीप्लाई इफेक्टमा धेरै न्युट्रोन बनाइन्छ। यसले अर्को सानो हिस्सामा एउटा शृंखलाबद्ध प्रतिक्रिया सुरु हुन्छ। यसबाट न्युट्रोन गामा किरण र ठूलो मात्रामा ऊर्जा पैदा हुन्छ। यसले सघन पानीको तापक्रमलाई बढाइदिन्छ र बाफ पैदा गर्छ। 

यसपश्चात बाफले रियक्टर टरबाइनलाई घुमाउँछ। जसले विद्युत उत्पादन गर्ने जेनेरेटरलाई सक्रिय गराउँछ। यस प्रकार विद्युत तयार भएर अन्ततः ग्रिडमा जोडिन्छ। –एजेन्सी