काठमाण्डौ । साउदी नेतृत्वको ओपेक र अन्य सहयोगी तेल उत्पादकहरुले रुसविरुद्ध नयाँ पश्चिमी प्रतिबन्धका कारण उत्पन्न अनिश्चितताका बीच विश्वव्यापी अर्थतन्त्रका लागि आफ्नो तेल आपूर्ति लक्ष्यमा कुनै परिवर्तन गरेका छैनन्। यी देशमा रुस पनि सामेल रहेको छ। 

ओपेक र अन्य सहयोगी राष्ट्रका पेट्रोलियम मन्त्रीहरुको आइतबार बसेको बैठकले तेल आपूर्ति लक्ष्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो। रुसी तेलमा प्राइस क्याप (मूल्य सीमा) सोमबारदेखि लागू हुन लागेको बेलामा यो निर्णय गरिएको हो।

अस्ट्रेलिया, बेलायत, क्यानडा, जापान, अमेरिका र २७ राष्ट्र युरोपेली संघले शुक्रबार रुसी तेलको प्रतिब्यारेल ६० डलरको सीमा तोकेका छन्। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयले पश्चिमी देशहरुलाई रुसी तेलको मूल्य थप घटाउन आह्वान गरेको छ भने रुसी अधिकारीहरुले प्रतिब्यारेल ६० डलरको सीमालाई स्वतन्त्र र स्थिर बजारका लागि हानिकारक भनेका छन्।

यस्तो मूल्य सीमाले विश्व बजारमा रुसी तेलको पहुँचलाई कति हदसम्म सीमित गर्न सक्छ भन्ने कुरा अझै स्पष्ट छैन। यदि मूल्य सीमा लागू हुन्छ भने तेल आपूर्ति घट्नेछ र मूल्य बढ्नेछ।

अर्कोतर्फ विश्व अर्थतन्त्रमा मन्दी आउने सम्भावनाका कारण तेलको माग घट्ने सम्भावना पनि रहेकाले मूल्यमा दबाब परेको छ। –एजेन्सी