काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचकको दोहोरो अंकको वृद्धिसँगै कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँ हाराहारी भएको छ।

आजे नेप्से परिसूचक १३.९४ अंकको बढोत्तरीका साथ १५.९७.७१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१० अंकको बढोत्तरीका साथ ३१६.६५ को उचाइमा पुगेको छ।  

हिजो एनआईसी एसिया बैंकले कोरोना कहरबीच बम्पर लाभांश दिने प्रस्ताव गरेपछि लगानीकर्ताले बैंकिङ समूहमा आकर्षण बढाएका छन्। कोरोना कहरले बैंकको लाभांश क्षमता निकै धराशायी हुने अनुमानका बीच एनआईसी एसियाले बम्बर लाभांश घोषणा गरेकाले लगानीकर्ताहरु बैंकका सेयरमा आकर्षित भएका हुन्। बैंकिङ समूह चल्नेबित्तिकै कारोबार रकम र इन्डेक्समा समेत निकै राम्रो दबाब पर्दछ।

हाइड्रोपावरमा प्रफिट बुक गरी अघिल्लो सातादेखि नै बैकिङ समूहतर्फ चहलपहल बढाएका लगानीकर्ताले आगामी दिनमा बैंकका सेयरमूल्यमा उछाल आउन सक्ने विश्लेषकहरु दाबी गर्छन्। ‘हिजोआजको सेयर कारोबारको राफसाफ दसैँ बिदापछि मात्र हुने भएकाले अहिले किनेको सेयरको रकम भुक्तानी दसैँ बिदापछि तिर्न मिल्ने भएकोले समेत आपूर्तिभन्दा माग पक्ष बलियो हुन गई परिसूचक र कारोबार रकम पुनः ह्वात्तै बढेको देखिन्छ’, उनीहरु भन्छन्, ‘जुन भोलि बिहीबार पनि यथावत रहन सक्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।

यो दिन सबैभन्दा बढी निर्जीवन बीमा समूहमा ६४.२८ अंकको उछाल आएको छ। जीवन बीमा समूहमा ५७.९४ अंकको बढोत्तरी भएको आज बैंकिङ समूह २१.५५ अंक, व्यापार समूह २३.४ अंक, विकास बैंक समूह १०.०४ अंक, अन्य समूह ३.०५ अंक, लघुवित्त समूह ३.४१ अंक र म्युचुअल फन्ड समूह ०.१ अंकले उकालो लागेका छन्। 

आज होटेल्स् समूहमा सबैभन्दा धेरै १५.०३ अंकको गिरावट आएको छ। जलविद्युत् समूह १४.०९ अंकले घटेको यो दिन वित्त समूह ०.६ अंक र उत्पादन तथा प्रशोधन समूह ६.३३ अंकले ओरालो लागेका छन्।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९२ कम्पनीका ५५ लाख ९ हजार ४४८ कित्ता सेयर १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ रुपैयाँमा कारोबार भएको छ। 

आज एनआईसी एसिया बैंकको सर्वाधिक २४ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कुमारी बैंकको ८ करोड ३९ लाख रुपैयाँ कारोबार भएको यो दिन नेपाल बैंकको ७ करोड ४३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ४ करोड ५३ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड १० लाख रुपैयाँ, अपी पावरको ३ करोड ८४ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ७३ लाख रुपैयाँ, लक्ष्मी विकास बैंकको संस्थापक सेयरको ३ करोड ६५ लाख रुपैयाँ र मेगा बैंकको ३ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।

यो दिन नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।