काठमाण्डौ । पछिल्लो २४ घन्टामा कोरोना परीक्षण गरिएकामध्ये ४४ प्रतिशत बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन्। पीसीआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २ हजार २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा २७ हजार ४९७ जनामा कोरोना परीक्षण गरिएको थियो। तीमध्ये ४४.८७ प्रतिशत बढीमा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै ६ हजार ९८१ संक्रमित थपिएका छन्। जसअनुसार काठमाण्डौमा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ भने ६४९ जना संक्रमणमुक्त भएका छन्।