काठमाण्डौ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउन्ट एभरेस्ट फेसन रनवे’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। 

नेपाल सहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो २०७८ असोज ६ गते (२२ सेप्टेम्बर २०२१) मा सगमाथा कालापत्थर क्षेत्रमा आयोजना हुनेछ। के फिल्मस र एमई टु फिल्मसको सहकार्यममा कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएका छन्। 

फेसन रन वेको पहिलो संस्करण गत वर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो। जुन कार्यक्रमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो। 

यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रेकर्ड गराउने आयोजकको योजना छ। जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वर्ल्ड रेकर्ड दर्ता गराउनेछन्। 

कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रवर्द्धनका लागि बोर्डले छुट्टाछुट्टै  योजना अघि सारेको सन्दर्भमा यो कार्यक्रमले नेपालको पर्वतीय पर्यटनमा नयाँ आयाम थप्ने बताए। उनले विश्वसमुदायले नेपाललाई मौसमी (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देशसमेत दिने बताए। 

रेग्मीले कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवर्द्धनका अन्य कामलाई निरनतरता दिने जानकारी दिए। 

कार्यक्रममा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए। 

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पंकज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालााई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए।  

कम्पनीका सीओओ तथा फेसन डिजायनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यकताअनुसार परिमार्जन गरि प्रस्तुत गरिने बताए। 

यस्तै कम्पनीका सीएफओ रिकेन महर्जनले दिगो पर्यटनका लागि आफुहरुले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए। कोभिडका कारण नेपालमा अझै पर्यटकीय गतिविधि पूर्ण रुपमा नचलेको  सन्र्दभमा लकडाउन र स्वास्थ्य मापदण्डको पालना गरी अन्तर्राष्ट्रिय सेलिब्रेटीलाई नेपाल ल्याइने गरी योजना आयोजकको छ।  

कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन्। कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको शाहसीक पर्यटन प्रवर्द्धनमा सघाउन पुग्ने धारणा राखे।