काठमाण्डौ। नेपाल पर्यटन बोर्डले नेपाली सेनाको निमन्त्रणमा नेपाल भ्रमणमा रहेको नाइजेरियाको सेनाको टोलीसँग नेपालको पर्यटनका बारेमा अन्तर्क्रिया गरेको छ। 

काडमाण्डौमा आयोजित अन्तर्क्रियामा नाइजेरियाको नेसनल डिफेन्स कोर्स (एनडीसी–३०)मा सहभागी शिक्षार्थी तथा फ्याकल्टी मेम्बरहरु सम्मिलित २२ सदस्यीय भ्रमणदलका सदस्य तथा नेपाली सेनाका उच्च अधिकारीहरुको सहभागिता थियो। टुरिजम डेभलपमेन्ट इन नेपाल एन्ड लेसन्स अफर नाइजेरिया भन्ने थिममा आधारित रही नेपाल भ्रमणमा रहेको एनडीसीको २०७९ जेठ २२ गतेदेखि नेपाल भ्रमणमा रहेको छ। 

उक्त भ्रमणदललाई नेपालका पर्यटनसँग सम्बन्धित विषयहरुमा प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिएको थियो। 

एनडीसीको टोलीलाई स्वागत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल भौगोलिक विधितायुक्त सुन्दर देश भएको उल्लेख गर्दै नेचर कल्चर र एडभेन्चर यी तिनै सबै खालका पर्यटकीय गतिििवधिका लागि विश्वभरबाट पर्यटक आउने गरेको बताए। उनले नाइजेरियन सेनासँगको अन्तर्क्रियाबाट त्यहाँबाट नेपाल आउन चाहने नाइजेरियन पर्यटकका लागि थप सूचना सम्प्रेषण हुने बताए। 

उक्त भ्रमण टोलीका प्रमुख ब्रिगेडियर जनरल अलेचेनु माइक अलेचेनुले नेपाली सेना र नाइजेरियन सेनाका बीचमा आफ्नै खालको सम्बन्ध रहेको उल्लेख गर्दै यो अन्तरक्रियाबाट नेपालको पर्यटनबारे धेरै जान्ने मौका मिलेको र यसले भोलीका दिनमा जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने बताए।