काठमाण्डौ । नेपाल बैंकको एफपीओमा पहिलो चरणमा तोकिएको मितिमा ७ प्रतिशत पनि बिक्री नहुने छाँट देखिएपछि सीमा बढाएर साउन १३ गतेसम्म आवेदन दिन सकिने बनाइएको छ । 

बैंकले असार १५ गतेदेखि ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको हो । 

एफपिओ छिटोमा असार १९ गतेसम्म र ढिलोमा साउन १३ गतेससम्म आवेदन दिन सकिने बताइएको थियो ।

असार १९ गते(आज) पहिलो चरणको आवेदन दिन अन्तिम दिन भए पनि तेश्रो दिन(हिजो)सम्म बैंकको ४.४२ प्रतिशत मात्र एफपीओ बिक्री भएको छ । आज समेत धेरै आवेदन पर्ने अवस्था छैन । विगतको ३ दिनलाई हेर्दा यो बैंकको एफपीओमा आज कार्यालय समयभरि करिब ७ प्रतिशतको हाराहारीमा आवेदन पर्ने देखिन्छ । बैंकले त्यसपछि बाँकी रहने एफपीओ कित्ता खरीदका लागि साउन १३ गतेसम्म आवेदन दिनसकिने सूचना प्रकाशित गरेको हो । 

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

नेपाल बैंकको एफपीओमा ८ मर्चेन्ट बैंकले अण्डरराइट गरेका छन् । सीबीआइएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले बैंकको एफपीओमा प्रत्याभूति गरेका हुन् । यसको अर्थ यो बैंकको एफपीओ सबै बिक्री भएन भने बिक्री नभएको सबै कित्ता यी ८ वटा मर्चेन्ट बैंकले प्रतिबद्धता जनाएअनुसारको प्रतिशतका आधारमा उठाउनुपर्नेछ ।