काठमाण्डौ । भारतले आफ्नो पहिलो डिजिटल करेन्सी (मुद्रा) ल्याउने भएको छ। 

भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आगामी डिसेम्बर महिनासम्ममा परीक्षण कार्यक्रमअन्तर्गत पहिलो डिजिटल करेन्सी लन्च गर्न लागेको जानकारी दिएका हुन्। चीन, युरोप र अमेरिकाका केन्द्रीय बैंकहरु पनि आफूद्वारा जारी डिजिटल करेन्सीको परीक्षणका क्रममा छन्। यसलाई सेन्ट्रल बैंक डिजिटल करेन्सी वा सीबीडीसी पनि भन्ने गरिन्छ। 

भारतमा भने यसलाई डिजिटल रुपीको नामको दिइएको छ। ‘डिजिटल करेन्सी आरबीआईका लागिमात्रै नभई सम्पूर्ण विश्वका लागि नयाँ प्रडक्ट भएकाले हामी यसबारे एकदमै सावधान छौँ’, दासले भने। 

यतिबेला आरबीआईले डिजिटल करेन्सीको विभिन्न पक्षहरुको अध्ययन गरिरहेको छ। आरबीआईले डिजिटल करेन्सीको सुरक्षा, यसले भारतको वित्तीय क्षेत्रमा पार्ने प्रभाव र देशको मुद्रा प्रवाह र मौद्रिक नीतिमा पार्ने प्रभावका बारेमा अध्ययन गरिरहेको दासले बताए।

दासका अनुसार आरबीआईले डिजिटल करेन्सीका लागि सेन्ट्रलाइज्ड लेड्जर वा डिस्ट्रिब्युटेड लेड्जर प्रयोग गर्ने भन्नेबारे समेत अध्ययन गरिरहेको छ। 

नगद कारोबारमा आएको कमी र बिटक्वाइनप्रति आममानिसहरुको बढेको रुचिका कारण विगत केही वर्षदेखि विश्वका केन्द्रीय बैंकहरुले आफ्नै डिजिटल करेन्सी प्रयोगमा ल्याउन अग्रसर भइरहेका छन्। 

यसमा चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना सबैभन्दा अघि रहेको छ। चीनका केही सहरहरुमा डिजिटल करेन्सी परीक्षणका क्रममा रहेको छ। 

यस्तै युरोपियन सेन्ट्रल बैंक र बैंक अफ इंग्ल्यान्ड पनि यो दौडमा अघि नै रहेका छन्। – एजेन्सी