-भक्तराज रसाइली 
काठमाण्डौ । गत शुक्रबारका दिन बिजशालामार्फत् विश्लेषकहरुले भनेका थिए–अब नेप्से चाँडै १५०० माथि पुग्छ । उनीहरुको यो प्रक्षेपण आइतबार नै यथार्थमा परिणत भयो । अर्थात यो दिन बजारले १५०० विन्दूलाई सहजै पार गर्ने तागत देखाइदियो ।

ग्राउण्ड जीरोकै सिलसिलामा ब्रोकरहाउसमा भेटिएका लगानीकर्ताहरु रु. ५०० हाराहारीका माइक्रो र इन्स्योरेन्स कम्पनीहरुको सेयर नछाड्न उर्दी नै जारी गरे झैं किन्न सुझाइरहेका सुनियो ।

नेप्सेको उछालबाट तरङ्गित सेयर बजार आज एकैदिन ७५ विन्दू बढ्दा आम लगानीकर्ताहरुमा उत्साह र खुशियाली छाइरहेको देखिन्छ।

ब्रोकरहाउसहरुमा सेयर खरिद गर्नेको थामिनसक्नु भीड मात्र देखिएको छ । बढ्दै गइरहेको नेप्से इण्डेक्सले लगानीकर्ताहरुमा सेयर खरिदबिक्रीमा समेत उल्लेख्य सहभागिता हुने थालेको छ । 

बिजशालाको नियमित स्तम्भ ग्राउण्ड जीरोका लागि हामी यो साता शंकरदेव क्याम्पस, पुतलीसडक आसपासका ब्रोकरहाउसहरु पुग्यौं ।

चौतर्फी सकारात्मक माहौल बन्दै गरेको सेयर बजारमा हामी स्टक ब्रोकर नम्बर २५, श्वेता सेक्युरिटीजमा ११ बजे नै पुग्दा समेत अगाडि नै लगानीकर्ताहरुको बाक्लो उपस्थिति देखेर चकित समेत बन्यौं । भीड मार्केट डिस्प्ले देखाउने रुममा मात्रै हैन कि ब्रोकरको कारोबार कक्षमा लगानीकर्ताहरु सेयर किन्न तँछाडमछाड गर्दै गरेको दृश्य देखिन्थ्यो । 

यसैबीचमा हामी बसेको अगाडिबाट एक लगानीकर्ताले ‘बैंक नि बढ्यो, अब बैंकका सेयरमूल्य बढ्ने’ जिकिर गरे । ‘नमस्ते हजुर बैंक बढाउनु भयो कि क्या हो आज ?’ टाइसूटमा ठाँटिएर आएका अर्का लगानीकर्ताले भने । नेप्से परिसूचक १४८० छोइसकेपछि परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सबै लगानीकर्ताहरु आत्तिन थाले । ‘एफएमडीबीएलमा त सर्किट नै गयो।’

इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकाल बोले । बजार पुनः बढ्दै जान्छ अनि लगानीकर्ताहरु भन्न थाले–‘क्यूमा (अर्डर)राखेर काम छैन जति छ त्यतिमा तान्ने हो ।’

पछाडितिरबाट लगानीकर्ताहरु हौसिँदै भन्न थाले–‘बढ्यो बाफ रे बाफ कहाँ राख्ने पैसा ?’ एक लगानीकर्ता भने एभरेष्ट बैंक ७ सयमा किन्न नपाएकोमा गुनासो गर्दै भने–‘एभरेष्ट ७ सय कटिगो ।’

अब नेप्से १७०० पुग्ने एक लगानीकर्ताले दाबी गर्दै भने–‘अहिलेसम्म (११ः२५)३३ करोड कारोबार भइसक्यो यही रफ्तारमा गयो भने सर्वाधिक रेकर्ड कायम गर्छ ।’ नभन्दै आज एकैदिन नेप्सेकै इतिहासमा सर्वाधिक कारोबार रकम ३ अर्ब ६० करोड रुपैयाँ बढी भयो ।

हामी स्टक ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीज उक्लँदा त्यहाँ पनि बाक्लो उपस्थिति थियो । लगानीकर्ताहरु ‘स्टक डिलर आउँदै गरेको र सस्तोमा किनेर महङ्गोमा बेच्ने होला अब सस्ता सेयरहरु पो किन्न छुट्ने हो कि ?’ भन्दै थिए । 

बजारको गति उकालै लागिरहेको थियो । यत्तिकैमा एक लगानीकर्ताले शंका गर्दैैै भने–‘ठूलाले नेप्सेको सर्भर डाउन गरेर सेयर खाने दाउ होला अब भोलि । अब त झन् अर्थमन्त्री जाने हल्लाले पनि मार्केट माथि जान्छ ।’

हामी ब्रोकर हाउस डुल्दै जाँदा ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटीज पस्यौं । यहाँ पनि लगानीकर्ताहरुको भीड रमितलाग्दो थियो । ‘धेरै एक्साइटेड नहौं ।’ उभिएर बसेका एक लगानीकर्ताले सम्हालिन सुझाए । ‘भोलिदेखि बैंक बढ्दैछ ।’एक लगानीकर्ताले दाबीसमेत गर्न भ्याए । ‘बैंक नै दौडने हो सस्तो छ, सेयर पनि धेरै आउने ।’हामीसँगै बसेका एक लगानीकर्ताले जिकिर गरे । 

‘नेप्से यतिका बढ्यो, धन्य कारोबार देखाइरहेको छ । भोलिदेखि मेशिनले काम गर्दैन होला ।’एक लगानीकर्ताले नेप्सेको अनलाइन प्रणालीप्रति अविश्वास देखाए । यी लगानीकर्तामात्र हैनन् नेप्सेको अनलाइन प्रणालीले आम लगानीकर्ताहरुको विश्वास जित्न नसकिरहेको ब्रोकरहाउस चाहर्दा प्रष्ट हुन्छ । बजार बढेर १५०९ पुगी १४८८ मा झर्दा ‘करेक्सन यही हो’ भन्ने लगानीकर्ता पनि भेटिए । ‘नेपाल बैंकको सेयरमूल्य अब बढ्छ।’–अर्का लगानीकर्ताले दाबी गरे।

हामी ब्रोकर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटीजमा पनि लगानीकर्ताहरुको अचाक्ली भीड देखिन्थ्यो । ‘बैंक बढ्न खोज्यो कि सेलर आउँछ । अब त बजार गुटुङटुङ आउँछन् लगानीकर्ता, बजार बढ्यो।’ एक लगानीकर्ताले भने । ‘एफडीको पैसाभन्दा कम छैन, सेयरबजारको अहिलेको कमाइ ।’अर्का लगानीकर्ताले जिकिर गरे । 

‘नेपाल बैंक हेर्नुस् अब ३५० पुग्दैछ, बैंक नबढी सुखै छैन । बैंक भनेको बैंक नै हो ।’–बैंकको सेयरमा भएको बलियो विश्वास लगानीकर्ताहरुले व्यक्त गर्दै थिए । 

‘आज पनि कारोबार रकममा रेकर्ड ब्रेक नै होला।’–अर्का लगानीकर्ताले अनुमान लगाए ।