काठमाण्डौ । विश्वमै पहिलोपटक लामो समय पानीमाथि पद्मासन गरेर नेपाली युवाले विश्व कीर्तिमान बनाउन सफल भएका छन्।

बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घन्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरी वर्ल्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन्। 

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सोमबार श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन्। मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। 

सन् २०२१ अगस्ट २ मा स्कोलास्टिक फाउन्डेसनले आयोजना गरेको शिक्षासम्बन्धी कार्यक्रमको सञ्चालनका क्रममा श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्मासन गरेका थिए। यो रेकर्ड विश्वमा नै पहिलोपटक कायम भएको स्कोलास्टिक फाउन्डेसनका अध्यक्ष प्रज्ज्वल भण्डारीले जानकारी दिए।