– भक्तराज रसाइली 

काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड (पीएलआई) ले धितोपत्रको दोस्रो बजारमा धमाका गरेको छ। 

नयाँ आईपीओ निष्कासन गरेका बीमा कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनीपछि सेयरमूल्य १ हजार प्रतिकित्ता नाघेको प्रभु लाइफमात्रै एक कम्पनी हो। चालु आर्थिक वर्षमा आईपीओ निष्कासन गरेका अन्य नयाँ निर्जीवन तथा जीवन बीमा कम्पनीको सेयर मूल्य ६ सय रुपैयाँ प्रतिकित्ता हाराहारी उपलब्ध भइरहेका छन्। 

प्रभु लाइफको आज बुधबार रु. १०१६ सम्म पुगेको सेयरमूल्य यो समाचार तयार पार्दासम्म प्रतिकित्ता रु.९३४ मा कारोबार भइरहेको छ। केही सीमित लगानीकर्ताका हातमा १० कित्तामात्रै रहेको प्रभु लाइफको सेयर बजारमा १० प्रतिशतमात्रै आएको देखिन्छ। बाँकी सबै सेयरधनीले यसको बजारभाउ बढ्ने आशामा होल्ड गरेको देखिन्छ। 

प्रभु लाइफको १० कित्ता हाता पारेका साना लगानीकर्ताले लगानी सोच नै परिवर्तन गरिदिएका छन्। खुद्रे लगानीकर्ताको मनोविज्ञान र व्यवहारले सेयर बजारमा नयाँ–नयाँ सिद्धान्तको जन्म हुने निश्चितप्रायः छ। साना लगानीकर्ताको ठूलो संख्यामा उदय भएकाले पनि अबको बजार निकै उत्साहपूर्ण र सुखद हुने अपेक्षासमेत हुन थालेको छ।

प्रभु लाइफको सेयर सम्भवतः इतिहासमै नेप्सेले तोकेको रेन्जभन्दा घटेर पहिलोपल्ट कारोबार भएको कम्पनीमा पर्छ। यसको अर्को रोचक प्रसंग चाहिँ मूल्य लगातार शिखर चढ्दै नयाँ बीमा कम्पनीको सेयरमूल्यभन्दा अधिक माथि पुगेको छ। 

एक साताअघि मात्रै अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनीका सेयरमूल्य प्रतिकित्ता ६०० रुपैयाँ हाराहारी रहेकामा यो सातादेखि ती कम्पनीका सेयरमूल्यसमेत प्रभु लाइफलाई पछ्याइरहेका छन्। अर्थात यी कम्पनीका सेयरहरु पनि दोस्रो बजारमा खरिद गर्न हारालुछ भइरहेका छन्।

गत पुस १९ गते प्रभु लाइफको सेयर दोस्रो बजारमा किनबेच हुँदैछ। २ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएपछि पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता रु.१०९.५६ देखि रु.३२८.६८ नेप्सेले ओपनिङ रेन्ज तोकेको थियो। नेप्सेले तोकेको न्यूनतम रेन्जभन्दा ५ प्रतिशत घटी पहिलो कारोबार भएकोमा यो कम्पनीको सेयर लगातार हिजोसम्म पोजिटिभ सर्किट नै लाग्यो।

प्रभु लाइफद्वारा निष्कासित ६० लाख कित्तामध्ये ५४ लाख कित्ता सर्वसाधारणको हातमा पुगेको छ। हिजो मंगलबारसम्म ७ लाख ६६ हजार कित्तामात्रै दोस्रो बजारमा कारोबारमा आएको छ। 

यो कम्पनीको सेयर स्टक ब्रोकर नम्बर ५५ ले सबैभन्दा धेरै खरिद गरी ९२ हजार ४१० कित्ता होल्ड गरेको छ। सबैभन्दा धेरै बिक्री गर्नेमा स्टक ब्रोकर नम्बर ६ ले ४९ हजार २२ कित्ता बिक्री गरेको प्रभु लाइफको सेयरमा लगानीकर्ताप्रति अचाक्ली आकर्षण देखिन्छ।