काठमाण्डौ । नयाँ आर्थिक वर्षको सुरुआतसँगै धितोपत्र बजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि छुट्टाछुट्टै पुँजीगत लाभकरको व्यवस्था गरिएको छ। 

सोही व्यवस्थालाई कार्यान्वयन गर्न सीडीएससीले ‘मेरो सेयर’ प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधासमेत थप गरेको छ।

सीडीएससीले आज (साउन ३ गते) बेलुका ७ बजेदेखि यो थप सुविधा सञ्चालनमा ल्याउने भएको हो। मेरो सेयरको मोबाइल एप प्रयोग गर्ने लगानीकर्ताहरुले भने प्लेस्टोरमार्फत मेरो सेयर एप अपडेट गरी उक्त सेवा प्रयोग गर्न सक्नेछन्। 

नेपाल सरकारद्वारा जारी आर्थिक अध्यादेश २०७८ मार्फत आयकर ऐन, २०५८ को दफा ९५(क) मा संशोधन गरी ‘उपदफा (२) को खण्ड (क) मा रहेका ‘बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको ५ प्रतिशत’ भन्ने शब्दहरुको सट्टा अब ‘बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ७.५’ भन्ने शब्दहरू राखिएको छ। गत साउन १ गतदेखि हुने सम्पूर्ण कारोबारमा बिक्रीकर्ता बासिन्दा प्राकृतिक व्यक्तिले धितोपत्रको बिक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नका लागि आफ्नो स्वामित्वमा रहेको कुल धितोपत्रको लागतको भारित औसत गणना गरी सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरी धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधिसमेत गणना गरी बिक्री गरेको धितोपत्रमध्ये ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सोभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्यासमेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको हो।

सोहीअनुसार सम्पूर्ण लगानीकर्तालाई कारोबार गर्न गराउन नेपाल धितोपत्र बोर्डले पनि आग्रह गरेको छ।