– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारमा पछिल्लो समय चर्चामा भएको विषयमध्येको एउटा नयाँ स्टक एक्सचेन्ज पनि रहेको छ। 

ब्रोकर, लगानीकर्तामात्र नभएर सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज र सीडीएससीमा कार्यरत कर्मचारीबीच पनि नयाँ स्टक एक्सचेन्ज के होला ? भन्ने छलफल र बहसको विषय बनेको छ।

सेबोनका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालको नियुक्त भएको दिनदेखि नै बजारमा नयाँ स्टक एक्सचेन्जको चर्चा सुरु भएको छ। बजारमा अध्यक्ष हमालको प्रमुख एजेन्डा नै नयाँ स्टक एक्सचेन्ज रहेको भन्ने हल्ला पनि सुन्ने गरिन्छ।

नयाँ स्टक एक्सचेन्ज आउने वा नआउने अन्यौलता बढ्दै गर्दा लगानीकर्ता भने नयाँ स्टक एक्सचेन्ज आउँछ भनेर मख्ख देखिन्छन्। ब्रोकरका साथै नेप्सेलगायतमा कार्यरत कर्मचारी भने नयाँ स्टक एक्सचेन्ज आएमा आफूहरुको भविष्य के होला भनेर चिन्तित देखिन्छन्। 

नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले अहिले सञ्चालनमा भएको नेपाल स्टक एक्सचेन्जले बजारमा लगानीकर्ताले सोचेअनुरुपको प्रडक्ट विकास गर्न सक्ने माहौल नभएकाले पनि नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको बताए। ‘नेप्सेमा सरकारको बढी लगानी भएकोले स्वतन्त्र रुपमा चल्न नसक्ने अवस्था छ’, साउद भन्छन्, ‘नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउँदा सरकार नेप्सेलाई स्वतन्त्र रुपमा काम गर्न दिन कि त बन्द गर्न बाध्य हुन्छ। त्यसैले नयाँ स्टक एक्सचेन्जले लगानीकर्ता, बजार, अर्थतन्त्रमात्र नभएर स्वयं नेप्सेको पनि हित हुन्छ।’

‘नयाँ स्टक एक्सचेन्जको कुरा गर्दैगर्दा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्यामात्र हेर्नु हुँदैन। डेरिभेटिभ, डिबेन्चर, कर्पोरेट बोन्डलगायतको मार्केट ठूलो छ। तर, हाम्रोमा आवश्यक कामहरु भने नभएको देखिन्छ’, साउदले भने।

नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउँदा राजस्व, कारोबार बढ्ने, नयाँ प्रविधि सञ्चालनमा आउने, ब्रोकर संख्या थपिने, लगानीकर्ताले थप सुविधा पाउने भएकाले समग्र बजार र अर्थतन्त्रलाई नै हित हुने साउदको भनाइ छ। भारतमा स्टक एक्सचेन्जले नै निफ्टी, फिफ्टीलगायतको इन्डेक्स सञ्चालन गरेको उल्लेख गर्दै साउदले भने, ‘हाम्रोमा भने सञ्चालनमा भएको ओटीसी मार्केट पनि नेप्सेको शाखा जस्तो मात्र छ। त्यसैले नेपाली बजारमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याएर धेरैभन्दा धेरै इन्स्ट्रुमेन्ट ल्याउन आवश्यक छ।’

‘मैले नेप्सेमा डेरीभेटिभ र लिक्युडीटी प्रोभाइडरको कार्यविधि तयार गरेको थिए। तर, बोर्डमा एपीआई त्यतिकै थन्कियो। अहिले काम गर्नेहरुलाई पनि बोर्डले भनेको मान्ने कि मन्त्रालयले भनेको मान्ने ? भन्ने अन्यौलता छ’, साउदले भने, ‘त्यसैले पनि नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउन त्यति सहज भने छैन।

मन्त्रालयको कर्मचारी नै नेप्से, बोर्डको सञ्चालक समितिमा आउने गरेका छन्। अधिकांश कर्मचारी रिस्क लिन चाहँदैनन्।’ 

‘मेरो कार्यकालमा नेप्सेको रिस्ट्रक्चरका लागि मन्त्रालयमा ५–६ वटा मोडल पेस गरेको थिए। तर, कुनै पनि काम अघि बढेन’, साउदले भने, ‘त्यसैले नेपाली बजारलाई पनि चिन, भारत, बंगलादेशजस्तै विकास गर्ने हो भने नयाँ स्टक एक्सचेन्ज आवश्यक छ।’