– अर्जुन तिमिल्सिना

काठमाण्डौ । पछिल्लो समय पुँजीबजारमा युवाहरुको आकर्षण राम्रै बढेको छ। खासगरी कोभिड रोकथामका लागि जारी लकडाउनपछि युवाजमात सेयर बजारमा ह्वात्तै बढेको पाइन्छ। 

पुँजीबजार अहिले दाम र नाम दुवै कमाउने थलोका रुपमा परिचत छ। पुँजीबजारमा दाम कमाउन छिरेका लगानीकता नाम कमाएसँगै र विभिन्न सँगठनमा आबद्ध भएर राजनीतिमा पनि अगाडि बढेको देखिन्छ। 

खासगरी स्थानीय चुनावमा पुँजीबजारकै लगानीकर्ताको बलमा काठमाण्डौ महागरपालिकामा बालेन साहले मेयरजस्तो पदमा चुानाव जिते पछि भने लगानीकर्ताका नेताहरुको राजनीतिमा पनि चासो बढेको देखिन्छ। राजनीति गर्न र देशको उच्च पदमा पुग्नलाई अब कुनै नेताको दौराको फेरो समात्न आवश्यक नरहेको पनि पुष्टि भएको छ। यसले पुँजीबजार अब दाम कमाउने थलोमात्रै नभएर नाम कमाउने थलो पनि भएको कतिपय बजार जानकारहरुको मत छ। 

पछिल्लो समयमा पुँजीबजार सुधारको अभियान चलाएर अगाडि बढेका तिलक कोइराला पनि  ५५ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्न आफू तयार रहेको बताउँछन्। ‘सबैभन्दा पहिले मेरो अभियान हामी सबै सेयर लगानीकर्ता एकता संघ बनाएर अगाडि बढ्ने हो’, उनले भने, ‘सेयर लगानीकर्ताका माग पूरा गर्न धेरैपटक आन्दोलित पनि भयौँ। अब सरकारले सुनोस र बुझोस्। सरकारका लागि अब धेरै समय छैन। यदि सरकारले सुन्दैन भने बुझ्दैन भने त्यसको विकल्प दिन हामी तयार छौँ। विकल्प सोचेका पनि छौँ।’

कोइरालाले चितवन क्षेत्र नं. १ लाई हिउँदे राजनीति बनाउने फेसबुक स्ट्याटसबाट घोषण पनि गरेका छन्। ‘यदि सरकारले हाम्रा माग सुन्दैन भने हामी अगाडि बढ्दै छौँ’, उनले भने, ‘यो सरकारले आजभोलि नै काम गर्यो भने विकल्प खोज्न आवश्यक छैन।’

सबै लगानीकर्ताको प्रतिनिधित्व हुने गरी एक ठाउँमा हुन मुक्ति अर्यालको संयोजकमा  वार्ता समिति पनि तयार गरेको कोइरलाले जानकारी दिए। 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल आफू लामो समय देखि एउटा सामाजिक अभियान्ता भएको र आधा आकाश ढाक्ने महिलाहरुको प्रतिनिधित्व गर्दै राजनीतिमा होमिएको बताउँछिन्। ‘हामी राजनीतिमा जान खोजेका हौँ तर राजनीति गर्न खोजेका होइनौँ’, पोखरेल भन्छिन्, ‘म आगामी प्रतिनिधिसभा चुनावमा काठमाण्डौ क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेकी छु।’ 

चार वर्षदेखि पुँजीबजारमा सक्रिय भएर लागेपछि आफूले जनताका समस्या बुझ्ने अवसर पाएको पोखरेलको भनाइ छ। ‘अब हामी युवाले चियापसलमा नेताहरुलाई गालीमात्रै गरेर हुन्न भन्ने मलाई लाग्यो’, उनले भनिन्, ‘राजनीतिलाई फोहोरी खेलबाट बाहिर ल्याउन पनि र यसलाई पेसा र पैसासँग भन्दा पनि देश समृद्ध बनाउन पनि युवा राजनीतिमा आउन चाहेका हुन्।’ 

आफ्नो उम्मेदवारी मुख्य गरेर देशमा भ्रष्टाचार र बेथिति चिर्नका लागि हुने पोखरेलको भनाइ छ। 

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की पनि प्रतिनिधिसभा चुनावमा काठमाण्डौको कुनै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने विचारमा छन्। ‘अहिलेसम्म नेपालका नेताहरुले पुँजीबजार र अर्थतन्त्र नबुझेको पाइयो’, कार्की भन्छन्, ‘पुँजीबजारमात्रै नभएर समग्र देशको कायपलट गर्न मेरो उम्मेदवारी हुनेछ।’ 

‘अहिलेसम्म दलका नेताहरुले राजनीतिलाई पेसा बनाएर भ्रष्टाचार गरे, सांसद बेचे, राजदूत बेचे, उनीहरुको आसेपासेलाई पोसे’, कार्कीले भने, ‘तर, हामी त्यसो गर्ने छौँ। राजनीतिलाई पूर्णकालीन पेसाभन्दा समाज सेवा गर्नेछौँ।  हामी दक्ष युवाको भिजनसहित अगाडि बढेका छौँ। काठमाण्डौ र धरान यसको प्रतिनिधित्वमात्रै हुन्। अब देशैभरिबाट युवाको प्रतिनिधित्व हुनेछ भने देशमा उथलपुथल हुनेछ।’